अर्घाखाँची कांग्रेस उपसभापति पौडेलसहित १० नेता निलम्बनमा: कारबाहीमा पर्नेमा देउवा पक्षका धेरै

| २०७९ असार ५ गते १९: ३८ मा प्रकाशित

बिरेन्द्र केसी ,अर्घाखाँची। स्थानीय तहको निर्वाचनमा पार्टीभित्र अन्तरघात गरेको आरोप लगाउँदै कांग्रेस अर्घाखाँचीको बैठकले जिल्ला उपसभापति बाबुराम पौडेलसहित १० जनालाई कारबाही गरेको छ । पौडेल र पूर्वक्षेत्रीय सभापति मणिराम पौडेललाई १ वर्षका लागि निलम्बन गरिएको कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले बताए ।

त्यस्तै भूमिकास्थान नगर सचिव ताराप्रसाद घिमिरे, पाणिनि गाउँपालिका-६ धातीवाङका वडासभापति मोदनाथ पौडेल, पाणिनि-८ का पूर्वसभापति यज्ञप्रसाद पौडेल, पूर्वजिल्ला सदस्य एवं भूमिकास्थान नगरपालिका-९ ढिकुराका क्षेत्रीय प्रतिनिधि गोपाल घिमिरे, विष्णप्रसाद मरासीनि र हरिप्रसाद मरासीनि एक वर्ष निलम्बन गरिएको कांग्रेस जिल्ला उपसभापति एवं अनुशासन समितिका संयोजक विष्णुप्रसाद भुसालले बताए ।

त्यस्तै महाधिवेशन प्रतिनिधि सृजना विक र क्षेत्रीय प्रतिनिधि अच्युत पन्थीलाई ६ महिनाका लागि निलम्बन गरिएको उनले बताए । जिल्ला सदस्य हरि दमासेसहित आठ जनालाई समेत गराइएको छ । यसअघि २० जनालाई कांग्रेसले स्पष्टीकरण सोधेको थियो ।

कारबाहीमा परेका विक र पन्थी बाहेक अरु सबैले वर्षौंदेखि पार्टीको गाउँ देखि जिल्ला तहका विभिन्न पदमा बसेर काम गरिसकेका छन् ।

कांग्रेस वडाबाट आएको सिफारिसका आधारमा ६ महिना देखि १ वर्षसम्मका लागि निलम्बन गरिएको कांग्रेस सभापति श्रेष्ठले बताए । ‘कारबाहीपछि पनि हामीले थप अनुसन्धान गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘केहीको एक/दुई दिनमा कारबाही फिर्ता पनि गर्दैछौं ।’

स्थानीय चुनावमा गठबन्धनका उम्मेदवारलाई हराउन भूमिका खेलेकाले कारबाही गरिएको उनले बताए ।कांग्रेस जिल्ला उपसभापति बाबुराम पौडेलले आफूलाई कारबाही गरिएको बारे कुनै जानकारी नभएको बताए । ‘पार्टीको बैठक भए त म उपसभापतिलाई खबर हुन्थ्यो,’ उनले भने, ‘गुटको बैठक बसिरहेको थियो । सभापति श्रेष्ठले व्यक्तिगत इगो साँधेका हुन्; यसले पार्टीलाई राम्रो गर्दैन ।’ स्थानीय तहको चुनावको समीक्षा गर्दै अब आउँदो संघ र प्रदेशको चुनावको तयारी गर्नुपर्ने बेला सभापतिले व्यक्तिगत इगो राख्ने काम गरेको उनले बताए ।

कारबाहीमा परेका धेरैजसो देउवा पक्षधर नेता रहेको र पार्टी सभापतिले पार्टी होइन, एउटा गुट चलाएर बिनाकारण कारबाही गरिएको एक नेताले बताए । ‘मलाई अहिलेसम्म कुनै पत्र वा जानकारी छैन,’ उनले भने, ‘चिठी आएपछि बल्ल थप निर्णय लिन्छु ।’कान्तिपुर डटकम बाट साभार  

प्रतिक्रिया दिनुहोस्