अर्घाखाँचीमा आत्महत्या विकराल समस्या बन्दै: पछिल्लो ३ बर्षमा १ सय ८७ जनाले त्यागे ज्यान

| २०७९ सावन ११ गते १४: ०४ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई।अर्घाखाँचीमा आत्महत्या विकराल समस्या बन्दै गएको छ ।

प्रत्येक बर्ष ४५ जना भन्दा धेरैले आत्महत्या गर्न थालेपछि जिल्लामा यसले जटिल समस्याको रुप लिन थालेको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको पछिल्लो तथ्यांक अनुसार गत आ.ब.मा मात्रै अर्घाखाँचीमा ५९ जनाले आत्महत्या गरेका छन् ।

आर्थिक बर्ष २०७८/०७९ मा पुरुष ३८ र महिला २१ गरि अर्घाखाँचीमा ५९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार ५९ जनामध्ये ५५ जनाले झुन्डिएर र ४ जनाले बिष सेवन गरेर ज्यान त्यागेका छन् ।

यस्तै पछिल्लो तीन बर्षमा अर्घाखाँचीमा १ सय ८७ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । जसमा आर्थिक बर्ष ०७६/७७ मा ४८, आर्थिक बर्ष ०७७÷७८ मा ८० र गत आ.ब. २०७८÷०७९ मा ५९ जनाले आत्महत्या गरेको बताइएको छ । यसरी आत्महत्याको बाटो रोज्नेमा ९ बर्षदेखी ९३ बर्षसम्मका रहेका छन् ।

आत्महत्याका घटना बढ्दै जानुमा अशिक्षा,गरिबी र बेरोजगारी प्रमुख कारण रहेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ । “आत्महत्या न्यूनीकरण गर्न हामीले सचेतना मुलक अभियान चलाइरहेका छौं”,प्रहरी नायब उपरिक्षक थापाले भन्नुभयो, “यद्यपि अपेक्षित प्रतिफल आएको छैन। उहाँले अगाडि थप्नुभयो,“यो गम्भीर समस्या हो ।, “यसलाई निराकरण गर्न एक पक्षले मात्रै कार्यक्रम गरेर हुँदैन” प्रहरी प्रमुख थापाले भन्नुभयो । सबै तहका सरकार,राजनितिक दल,नागरिक समाज सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा प्रहरी प्रमुख थापाको जोड रहेको छ ।

आत्महत्याका घटना घट्नुमा अशिक्षा,गरिबी र बेरोजगारी संगै पछिल्लो समय सामाजिक सन्जालको दुरुपयोग पनि अर्को कारण रहेको छ । यस्तै कोभिड महामारी,आर्थिक संकट,बेरोजागारि,वैदेशिक रोजगारि,दिर्घ रोगि जस्ता कारकलेपनि आत्महत्यालाई प्रोत्साहन गरिहरको जानकारहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्