अर्घाखाँचीको चुनावी विश्लेषण : सजिलो छैन टोप बहादुर रायमाझीलाई

| २०७९ सावन २० गते १६: २८ मा प्रकाशित

हरिप्रसाद भुसाल,अर्घाखाँची। सरकारले मंसिर ४ मा एकसाथ प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेसंगै अर्घाखाँचीमा पनि चुनावी अंकगणित शुरु भएको छ ।

एउटा प्रतिनिधीसभा र दुईओटा प्रदेशसभा सदस्यको लागि निर्वाचन हुने अर्घाखाँचीमा आगामी निर्वाचनले कस्तो परिणाम ल्याउला भनेर अंकगणित शुरु भएको हो ।

नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीको प्रभावक्षेत्र मानिएको अर्घाखाँचीमा केही दशकदेखी रायमाझीले एकछत्र जित्दै आएका छन् । माओवादी पृष्ठभूमिबाट आएका रायमाझीलाई यो पटक पनि वलियो उम्मेदवारको रुपमा हेरिएको छ ।

अर्घाखाँची जिल्लामा मुख्य प्रतिष्प्रधा नेपाली काँग्रेस र नेकपा एमालेकै विचमा हुने गरेपनि यो पटक बनेको सत्ता समिकरण र टोप बहादुर रायमाझी जस्ता प्रभावशाली नेताहरुले माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको अवस्थामा अर्घाखाँचीको निर्वाचन रोचक नै हुने अनुमान गर्न सकिन्छ ।

आगामी प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि नेकपा एमालेबाट रायमाझी सर्वसम्मत उम्मेदवार जस्तै देखिएका छन् भने सत्ता गठबन्धनबाट प्रतिनिधीसभा सदस्य स्वाभाविक रुपमा पाउने नेपाली काँग्रेसले कसलाई अगाडी सार्छ हेर्न बाँकी छ । यता गठबन्धन रहेपनि कमजोर भूमिकामा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्टिय जनमोर्चाले प्रतिनिधी सभा पाउने सम्भावना छैन । यसअर्थमा पनि विगतमा जस्तै यो पटक पनि टोप बहादुर रायमाझीले नेपाली काग्रेसकै उम्मेदवारसंग प्रतिष्प्रधा गर्नुपर्नेछ ।

तत्कालिन नेकपा माओवादी दशवर्षिय सशस्त्र युद्धबाट मुलप्रबाहमा आएदेखी नै अर्घाखाँचीमा टोप बहादुर रायमाझीले पराजय भोग्नुपरेको छैन । त्यसयता भएका तिनैओटा निर्वाचनमा विजयी बनेका रायमाझीलाई नेकपा विभाजन हुँदा निर्वाचन क्षेत्र सुरक्षित गर्नका लागि एमालेको कित्तामा उभिएको आरोप लागेको थियो । अझ आफ्नो भावी निर्वाचनलाई हेरेर नै रायमाझीले स्थानीय निर्वाचनमा अधिकतम बल लगाएका थिए । जुन निर्वाचनमा सत्ता गठबन्धनसंग देशभर कमजोर देखिएको एमालेले अर्घाखाँचीमा उत्साहजनक सफलता हात पारेको थियो । यस अर्थमा पनि टोप बहादुर रायमाझीको लागि आगामी निर्वाचन गर या मरको अवस्थामा हुनेछ ।

दुईओटा प्रतिनिधीसभा क्षेत्र हुँदा क्षेत्र नं. १ बाट २०६४ र २०७० मा जितेका रायमाझीले सिंगो अर्घाखाँची जिल्ला एउटा निर्वाचन क्षेत्र हुँदा पनि जित हात पारे । २०६४ र २०७० मा एक्लै जितेका रायमाझीले २०७४ को निर्वाचनमा भने नेकपा एमाले र राष्टिय जनमोर्चाको समर्थनमा जित हात पारेका हुन् । २०७४ को निर्वाचनमा रायमाझीले ५० हजार ८ सय ३७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका राम बहादुर विसीले ३२ हजार ५ सय ४४ मत प्राप्त गरेका थिए ।

२०७४ को निर्वाचनमा माओवादीका तर्फबाट उम्मेदवार बनेका रायमाझीले यो पटक उवेला साथ दिएका माओवादी केन्द्र र जनमोर्चाको साथ पाउने छैनन भने एमालेबाट टुक्रिएको एकीकृत समाजवादीले समेत यो पटक टोप बहादुर रायमाझीको विपक्षमा मत व्यक्त गर्नेछ । अझ माओवादी र जनमोर्चा सहित एकीकृत समाजवादीले नेपाली काँग्रेसलाई मत दिँदा यो पटकको निर्वाचन टोप बहादुर रायमाझीको लागि निकै भारी पर्ने देखिन्छ ।

गत निर्वाचनमा नेकपा एमालेले अर्घाखाँची जिल्लामा समानुपातिक तर्फ ३० हजार ४ सय १७ मत प्राप्त गरेको थियो । जसमध्ये करीव ४ हजारको हाराहारीमा नेता कार्यकर्ता एकीकृत समाजवादीमा जाँदा एमालेको जनमत २६ हजार ५ सयको हाराहारीमा हुन आउँछ । बरु रायमाझी सहितका नेताहरु माओवादी त्यागेर एमालेको पक्षमा उभिदा सात हजारको हाराहारीमा नेता कार्यकर्ताले माओवादी त्यागेको भए एमालेको जनमत ३३ हजार ५ सय हाराहारी हुन आउछ ।

यता गत निर्वाचनमा समानुपातिक तर्फ २८ हजार ३ सय ६९ मत नेपाली काँग्रेसले पाएकोमा यो पटक माओवादीको ७ हजार, जनमोर्चाको ४ हजार ५ सय र एकीकृत समाजवादीको ४ हजार हाराहारी मत प्राप्त गर्दा गठबन्धनको पक्षमा ४४ हजार हाराहारी मत हुन आउछ । अझ २०७४ पछि थपिएका करीव २६ हजार मतदाताले एमाले र गठबन्धन आधाआधा रोजेको अवस्थामा पनि टोप बहादुर रायमाझीको पक्षमा ४५ देखी ५० हजारको हाराहारीमा मत पर्ने देखिन्छ भने सत्ता गठबन्धनमा ५५ देखी ६० हजारको हाराहारीमा मत पर्ने देखिन्छ ।

त्यस्तै गत निर्वाचनमा बैकल्पिक शक्तिको रुपमा आफुलाई दावी गरेको विवेकशील साझाले करीव १ हजार ३ सय मत प्राप्त गरेको थियो । यतिवेला विवेकशील साझा पार्टी ओझेलमा छ भने रवी लामिछानेको स्वतन्त्र पार्टीले देशभर आक्रामक संगठन निर्माण गरिरहेको छ । गत निर्वाचनमा विवेकशीलले पाएका सहित केही मत यो पटक स्वतनत्र पार्टीमा जान सक्छन् । अर्घाखाँची जिल्लाबाट समानुपातिक तर्फबाट केही मत प्राप्त गर्न सकेपनि प्रत्यक्षतर्फ को उम्मेदवार बन्ने हो, त्यसले कस्तो माहौल ल्याउने हो हेर्न बाँकी नै छ । राप्रपादेखी बैकल्पिक भनिएका दल निकट उम्मेदवारले पाउने मतको आधारमा पनि रायमाझी र सत्ता गठबन्नको मत तलमाथी पर्न सक्छ ।

हुनत केन्द्रीय राजनीतिमा रहेर पनि अर्घाखाँची जिल्लामा पुग्ने र केन्द्रमा पहुँच राख्ने सवालमा टोप बहादुर रायमाझीको हाराहारीमा अर्को नेता अर्घाखाँचीमा कमसेकम अहिलेलाई छैन । ठूलादेखी सानातिना कार्यक्रमहरुमा मात्र होइन अधिकाँस समय अर्घाखाँचीमै भेटिने रायमाझी निर्वाचनपछि मुस्किलले पाँच सात पटक अर्घाखाँची पुगेका भुसाल र विसीहरु भन्दा लोकप्रिय उम्मेदवार पनि हुन् । अर्घाखाँचीका सानादेखी ठूला योजनासम्म बजेट भित्राउने सवालमा पनि रायमाझीसंग कसैको तुलना हुन नसक्ने एमाले निकटस्थहरुको बुझाई छ ।

अर्कोतर्फ एमालेबाट उम्मेदवारको तयारीमा रहेका रायमाझी सहित नेपाली काँग्रेसको तर्फबाट सम्भावित सुचीमा रहेका डा राम बहादुर विसी देखी वर्तमान उपसभामुख पुष्पा भुसाल सम्म ६० वर्ष पार गरिसकेका छन् । पाका नेताहरुको विकल्पमा युवाहरुले उम्मेदवारी दिनपुपर्ने र पाकाहरुलाई विदाई गर्नुपर्ने विषय पनि नउठेका होइनन । तरपनि रायमाझी, भुसाल र विसीहरुलाई टक्कर दिनसक्ने व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिनसक्ने र निर्वाचन नै प्रभावित पार्नसक्ने अवस्था निकै कम देखिएको छ ।स्रोत - पालिका अपडेट 

प्रतिक्रिया दिनुहोस्