लुम्बिनी वाङ्गमय प्रतिष्ठान नेपाल,अर्घाखाँचीकाे तेस्रो अधिबेशन सम्पन्न

| २०७९ कार्तिक ५ गते १९: १६ मा प्रकाशित

हिम लेकाली ,अर्घाखाँची। लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा बिष्णु बस्याल ( विप्र)  निर्वाचित हुनुभएको छ । आज सन्धिखर्कमा सम्पन्न तेस्रो अधिवेशनले अध्यक्ष बस्यालको नेतृत्वमा ११ सदस्यिय जिल्ला कार्य समितिको सर्वसम्मत  गठन गरेको छ , जस्को उपाध्यक्षमा कमल प्रसाद पोख्रेल (प्रेमी) सचिवमा तिर्थराज आचार्य,सह–सचिव मन्जु घिमिरे र कोषाध्यक्षमा सिता श्रेष्ठ चयन हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा गोपाल प्रसाद भट्टराई,सिता बन्जाडे,राम बसु,कृष्ण प्रसाद भुसाल,नारायण खनाल (निलम) र महेश्वर पन्थी छनौंट हुनुभएको छ । 

नवनिर्वाचित कार्यसमितिको आजै बसेको प्रथम बैठकले माधवराज चुंदाली संयोजक रहेको ११ सदस्यिय सल्लाहकार समितिको चयन गरेको अध्यक्ष बिष्णु बस्यालले जानकारी दिनुभएको छ । महाकवि देवकोटाको जन्मजयन्तीको अवसर पारेर गरिएको अधिवेशनको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष ऋषिराम आचार्य (आजाद)ले समुद्घघाटन गर्नुभएको हो । उद्घघाटन गर्दै अध्यक्ष आजादले एउटै कार्यक्रम र मन्चमा प्रमुख,विशिष्ट अतिथि अनि सहभागि भनेर बिभेद गर्ने कुचलनको अन्त्य गर्ने अभियान चलाउनुपर्नेमा जोड दिनुभएको छ । 

२१ औं शताब्दिको विज्ञान र प्रविधिको युगमा मान्छे–मान्छेबिचमा हुने विभेद मान्य नहुने भन्दै अध्यक्ष आजादले यसलाई निराकरण गर्ने क्षमता साहित्यले राख्ने दाबी गर्नुभएको छ । साहित्यविनाको विकास अधुरो हुने भन्दै उहाँले साहित्यको आरधना र साधना गर्न आम सरोकारवालालाई अपिल गर्नुभएको छ । कार्यक्रमको अवसरमा कवि तथा पूर्व प्रध्यापक ज्ञान बहादुर क्षत्रीको छेस्का कविता संग्रह अनुराग पनि बिमोचन गरिएको छ । छेस्का कविताका अभियान्ता ओम आचार्य र लुम्बिनी वाङमय प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रिषि आजादले बिमोचन गर्नुभएको अनुरागमाथि साहित्यकार एवम् प्रध्यापक माधवराज चुँदालीले टिप्पणी गर्नुभएको थियो।

 ५÷५ अक्षरका तिन हरफमा लेखिने रचनालाई छेस्का भनिएको र यसले व्यङ्ग,आलोचना र मायाको भावमा घोंच्ने टिप्पणीकार चुँदालीको भनाई छ । छेस्का अभियानमा जोडिएका संस्थापक ओम आचार्य,बिनोद नेपाल,एलपी पराजुली,टंक पन्त सहित ९ जना पछि अर्घाखाँचीका ज्ञान बहादुर क्षेत्री १० नम्बरका छेस्का रचनाकार बन्नुभएकोमा उहाँ र उहाँको अनुराग छेस्का संग्रह अर्घाखाँचीको सम्पत्ति भएको साहित्यकारहरुले दाबी गरेका छन् ।

 संस्थाका निर्वतमान उपाध्यक्ष लिलामणी ढुङ्गानाको अध्यक्षता,मन्जु घिमिरेको स्वागत मन्तव्य र तिर्थराज आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा अनुरागका रचनाकार ज्ञान बहादुर क्षेत्री,शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख मनिराम पराजुली, साहित्यकार युगल नारायण बसेल र पत्रकार महासंघ अर्घाखाँचीका जिल्ला उपाध्यक्ष बिरेन्द्र के.सी.ले मन्तव्य राख्दै साहित्यको माध्यमबाट जिल्लाको विकासमा लाग्न साहित्यप्रेमीहरुलाई आग्रह गर्नुभएको थियाे ।

अधिवेशनमा प्रतिष्ठानका  संस्थापक केन्द्रीय अध्यक्ष स्व. हिमलाल ज्ञवाली एवं वरिष्ठ साहित्यकार  स्व.सत्यमोहन जाेशीकाे संझनामा  श्रर्द्धासुमन अर्पण गर्दै तस्वीरमा पूष्प गुच्छा तथा टीका प्रदान गरिएको थियाे । साेहि कार्यक्रममा प्रतिष्ठानका  ५४  सदस्यहरूलाई आजीवन सदस्यताकाे प्रमाण -पत्र समेत  प्रदान गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्