पाँच दलिय गठबन्धनलाई एमालेले सजिलै पराजित गर्छ : रायमाझी

| २०७९ कार्तिक २७ गते १५: ०९ मा प्रकाशित

अर्जुन भुसाल ,अर्घाखाँची। नेकपा एमालेका केन्द्रीय सचिव तथा अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार टोपबहादुर रायमाझीले  पाँच दलिय गठबन्धनलाई एमालेले सजिलै पराजित गर्ने दावी गर्नुभएको छ । 

सत्ता र स्वार्थकोको निम्ति बनेको गठबन्धनले देशलाई निकास दिन सक्ने कुनै आधार नभएको उहाँले बताउनुभयो । भुमिकास्थान १० धनचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रियता, लोकतन्त्र, संविधानको रक्षाका लागि एमालेको जित अपरिहार्य रहेको बताउनुभयो । 
पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका उहाँले एमालेसँग एक्लै भिड्ने तागत नभएर पाँच दल एकै ठाउँमा उभिएपनि गठबन्धन दलसँग चुनावी एजेण्डा र भावी कार्ययोजना नभएको बताउनुभयो ।
 
उहाँले जिल्लाका तिनै क्षेत्रमा आफूहरुले विजयी हासिल गर्ने दावी गर्दै एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले विगतमा जिल्लाको विकासका लागि कुनै कसर बाँकी नराखेको भन्दै आगामी दिनमा पनि थुप्रै काम गरेर जनताको मन जित्ने बताउनुभयो ।

रायमाझीले एमालेलाई कमजोर बनाउन देशी,विदशी शक्तिले षडयन्त्र गरिरहेको भन्दै नेपाली जनताको साथले एमाले मुलुकको पहिलो पार्टी बन्ने ठोकुवा गर्नुभयो । उहाँले एमालेले हरेक वर्गका व्यक्ति तथा समुदायको हितका लागि काम गर्ने बताउनुभयो ।

नेता रायमाझीले मुलुकको विकास र समुन्नतीका लागि एमालेको सरकार अपरिहार्य रहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्ने दावी गर्नुभयो । 
उहाँले अदालतको परमादेशबाट बनेको वर्तमान गठबन्धन सरकारले दुई वटा बजेट ल्याएपनि देश र जनताको पक्षमा कुनै उल्लेख्य काम गर्न नसकेको बताउनुभयो । उहाँले सरकारमा रहेको बेला विकास, समृद्धि, समाजिक न्याय र सुशासनको पक्षमा गरेका कामले एमालेको लोकप्रियता बढेको जिकिर गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्