प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँबाट अर्घाखाँची आउन २७ वटा बस रिजर्व गरेर मतदातालाई जिल्ला ल्याइदै

| २०७९ मंसिर २ गते २०: १४ मा प्रकाशित

अर्घाखाँची । मंसीर ४ गतेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँबाट अर्घाखाँची आउनेका लागि २७ वटा बस रिजर्व भएका छन् । विभिन्न पार्टीले आफ्ना मतदातालाई बस रिजर्व गरेर जिल्ला ल्याइरहेका छन् ।

काठमाडौँबाट नियमित दुईवटा बस चल्ने जिल्लाहरुमा २७ वटासम्म बस रिजर्व भएका छन् । गोगबु नयाँ बसपार्कस्थित पश्चिम नेपाल बस व्यवसायी संघको टिकट काउन्टरका अनुसार गुल्मीको तम्घासका लागि २६ वटा बस रिजर्व भएका छन् । अर्घाखाँचीका लागि २७ र पाल्पाका लागि १७ वटा बस रिजर्व भएका छन् । कपिलवस्तु, नवलपरासीलगायतका जिल्लाहरुमा भने क्रमशः पाँच सातवटा बसमात्र रिजर्व भएका छन् ।

जिल्ला जानेहरुका लागि काठमाडौँ बसपार्कबाट करिब ६० प्रतिशत बसहरु रिजर्व भएका छन् । सम्बन्धित पार्टीका भातृसंगठनहरु र उम्मेदवारले नै बसहरु रिजर्व गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघका अनुसार सोही रुटमा चल्ने बसहरु रिजर्व भएका हुन् । संघको टिकट काउन्टरका व्यवस्थापक डिल्ली भुसालका अनुसार तराईका जिल्लामाभन्दा पहाडी जिल्लामा बसहरु बढी रिजर्व गरेका छन् । उनले भने, “पश्चिम नेपालका पहाडी जिल्लाहरुमा बढी मात्रामा रिजर्व भएका छन, अन्य पहाडी जिल्लाहरुमा पनि २० देखि १५ वटा बसहरु रिजर्व भएका छन् ।”

तर अधिकांश बसहरु रिवर्जमा गएपनि नियमित रुटतर्फ सहज व्यवस्थापन भएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । उनको भनाई छ, “नम्बर नपरेका बसहरु रिजर्व गएका हुन, नियमित रुटका बसहरु चलिरहेका छन् । टिकट नपाउने सीट नपाउने जस्ता समस्या छैनन्, हामी परिआए गाडी थप गर्न सक्ने अवस्थामै छौं ।”

बालाजु बसपार्क, कोटेश्वर, कलंकी, गौशालालगायतका क्षेत्रबाट जिल्ला फर्कने यात्रुहरुको शुक्रबार विहानैबाट भीड लागेको थियो । पार्टीका सम्पर्क समन्वय समितिहरु, भातृ संगठनहरु र उम्मेदवारबाट बसहरु रिजर्र्व भएका छन् । आफै टिकट काटेर जानेको संख्या पनि बृद्धि छ । अन्तरप्रदेशमा सञ्चालित बसहरुमा पनि यात्रुको चाप बढेको छ । सार्वजनिक मात्र नभई निजी सवारी साधनहरुमा पनि यात्रुहरु ठूलो संख्यामा बाहिरिएका छन् ।

महासंघका अनुसार विभिन्न पार्टीका सक्रिय कार्यकर्ताहरु पहिल्यै जिल्ला पुगिसकेका छन् । अब जाने यात्रु मतदाता हुन् । मंसीर २ गतेसम्म लामो दुरीका यात्रुहरु टिकट लिएका छन भने मंसीर ३ गते लामो दुरीको भन्दा पनि काठमाडौँ आसपासका यात्रुहरु बढी संख्यामा जाने सिटौलाको भनाई छ ।

निर्वाचन आयोगका अनुसार मंसीर ३ गते दिउसोसम्म सार्वजनिक यातायातहरु सञ्चालन हुने छन् । ३ गते राति र ४ गते मतदान सम्पन्न नहुँदासम्म अत्यावश्यक बाहेकका सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छैन ।स्रोत - नेपाल पृष्ठ

प्रतिक्रिया दिनुहोस्