सुपादेउराली मन्दिरप्रतिको धार्मिक आस्था : दिब्या भुसाल

| २०७९ फागुन ८ गते १९: ०० मा प्रकाशित

दिब्या भुसाल ,काठमाडौँ।
फाल्गुन ८ - पवित्र धार्मिक तीर्थस्थलका रूपमा सुपादेउराली चिनारी छ । यस मन्दिरबाट अर्घाखाँची जिल्लाको नाम पनि देशभर प्रख्यात छ। सन्धिखर्क - गोरुसिंगे राजमार्गमा आवतजाबत गर्नेहरूको मनोकामना पूरा गराइदिने देवीका रुपमा सुपादेउराली मातालाई लिईन्छ। यस मन्दिरमा भाकल गरी भाकल पूरा भएपछि  आफूले भनेको कुरा सुपादेउरालीलाई चढाउने परम्परा रहँदै आएको छ।

 यो मन्दिर लुम्बिनी प्रदेश अर्थात् अर्घाखाँची जिल्ला,सन्धिखर्क नगरपालिका वडा नं ७ मा स्थित छ। नरपानी नजिकै अवस्थित यस मन्दिरमा एकादशी, औंसी र पूणिर्मा बाहेकका दिनमा भाकल चढाउन सकिन्छ। शनिबारका दिन भाकल चढाउने तथा दर्शन गर्ने भक्तजनहरुको घुइँचो हुन्छ।
                                  
हरेक दृष्टिकोणबाट मन्दिर मनमोहक छ।मन्दिरको पूर्वमा खस्ने झरना र खोलाको छङछङ आवाजले त्यो बाटो भएर आवतजावत गर्ने यात्रुको मन लोभ्याउँछ। मन्दिर परिसरबाट हिमाल, पहाड र तराई एकैसाथ देख्न सकिन्छ। यही मन्दिरका कारण अर्घाखाँचीमा आन्तरिक पर्यटन बढ्दै गएको छ। नरपानी र फलामे दुवै अग्ला महाभारतकोबीच अधिक उचाईको भञ्ज्याङमा अवस्थित सुपादेउराली मन्दिर खोंचमा रहेको छ ।

यस प्रसिद्ध धार्मिक मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने एकिन तिथिमिति पत्ता लागेको छैन। यस सन्दर्भमा विभिन्न किम्बदन्तीहरुका आधार र पहरामा लाहुरे टासिएको,भगवान रामकी पत्नी सीताले बनाएको चुलो,जाँतो आदिका शिलाहरुबाट त्रेता युगदेखि नै यहाँ शक्ति थियो भन्न सकिन्छ।

पक्की बाटोको छेउ तथा भयानक छाँगाको शिरमै मन्दिर अडिएको हेर्दा चमत्कार जस्तै लाग्छ। त्यहाँका स्थानीय बासिन्दा तथा बुढा पाकाहरु बताउनु हुन्छ " बाईसे- चौबिसे राजाको पालामा खाँचीकोटका राजकुमार र भारत बलरामपुरको राजकुमारीसंग वैवाहिक सम्बन्ध कायम गर्ने टुंगो भएछ।भोज खाने क्रममा राजाले झुक्काएर विवाह गरेका र दुलहितर्फको जातको प्रसङ्ग निकाल्दा जन्तीहरुको बीचमा विवाद भएछ। बाटोमा दुलही बोकेको तामदानबाट रगतको थोपा चुहिन थालेछ। जन्तीहरु आतिएर तामदानमा हेर्दा दुलही मृतवस्थामा देखेछन्। सबै जन्ती शोकाकुल भएछन्। भोलिपल्टबाट गाउँमा रोगव्याधी उत्पन्न हुन थालेछ। गाउँघरमा मानिसको मृत्यु समेत हुन थालेछ। सबै मानिस आतिन्न थालेछन। त्यसैबेला एकजना झाँक्रीके विवाह गरेर ल्याएकी राजकुमारी देवीको स्वरूपमा उत्पन्न भएकाले उनको पूजाआजा नगर्दासम्म गाउँमा यस्तै भइरहने बताएछन्।त्यसपछि गाउँलेहरु दुलही लिएर जाँदा तामदानबाट रगतको थोपा झरेको स्थान भञ्ज्याङमा आएर सुपादेउरालीको प्रतिमा राखी पूजा गरेछन्। 

मन्दिर धार्मिक आस्थाको केन्द्र त हुँदै हो, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बताउँछन् " मन्दिरको भेटीबाट अर्घाखाँचीका दुइटा विद्यालयका एक दर्जन शिक्षकलाई तलब खुवाइन्छ।" पुजारीबाहेक मन्दिरमा व्यवस्थापन समितिका दुई, सहयोगी पाँच र चौकीदार एकजना पनि बस्छन्। मन्दिर व्यवस्थापन समितिले धर्मशाला बनाउने निर्णय गरेको छ तर , आवश्यक रकम जुट्न नसक्दा काम सुरु भइसकेको छैन। 
 
सुपा देउरालीलाई प्राकृतिक ,धार्मिक र साहसिक गन्तब्यका रूपमा विकास गर्न सकिन्छ। मन्दिर , क्षेत्रमा साहसिक खेल बन्जीजम्प र मन्दिरभन्दा माथिको डाँडामा प्याराग्लाइडिङको राम्रो सम्भावना देखिन्छ। तिब्र गतिमा यसको विकास गर्न सकियो भने आन्तरिक र बाह्य पर्यटकलाई आकर्षक गरी देश विदेशमा समेत प्रचारप्रसार गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्