देश र जनताको सेवामा खट्दा अन्यायमा परे प्रशासकिय अदालत आउनुस्ः अध्यक्ष घिमिरे

| २०७९ फागुन १० गते २२: ०५ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
फाल्गुण–१०,अर्घाखाँची।प्रशासकिय अदालतका अध्यक्ष डिल्लीराज घिमिरेले देश र जनताको सेवामा खट्नेहरुनै अन्यायमा परे प्रशासकिय अदालत जान सकिने बताउनुभएको छ । 

कसुर एउटै भएपनि सर्वसाधारणले गर्नु र कर्मचारीले गर्नु फरक कुरा भएको भन्दै उहाँले अन्यायमा परेमा न्याय खोज्न प्रशासकिय अदालत जान सुझाव दिनुभएको हो । प्रशासकिय अदालत काठमाडौंको आयोजनामा सोमबार अर्घाखाँचीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रशासकिय अदालतका अध्यक्ष घिमिरेले सरकारी कार्यालय मात्रै नभएर सरकारी स्वामित्वमा रहेका अर्धसरकारी तथा गैह्र सरकारीक्षेत्रका कर्मचारीका मुद्धा समेत प्रशासकीय अदालतले हेर्ने जानकारी गराउँदै अदालतको दायरा बढेको बताउनुभएको छ । 

प्रशासकिय अदालत ऐन २०७६ र प्रशासकिय अदालत नियमावली २०७७ को कार्यान्वयनपछि प्रशासकिय अदालतको दायरा बढेको उहाँको भनाई छ ।  कर्मचारी न्याय खोज्न प्रशासकिय अदालत आएमा सर्वोच्च अदालतमा मुद्धाको चाङ घट्ने भन्दै अध्यक्ष घिमिरेले यसो भए सर्वसाधारणले समयमा न्याय पाउन सहयोग पुग्ने समेत दाबी गर्नुभएको छ । प्रशासकिय अदालत हाल काठमाडौमा मात्रै रहेपनि अन्यायमा परेका कर्मचारीले बिभागीय प्रमुख मार्फत पुनरावेदन गर्न सकिने जानकारी दिनुभएको छ ।

 प्रशासकिय अदालतमा २०७६ सालपछि करिब १ सय १० वटा मुद्धा दर्ता भएकोमा ६० वटा मुद्धा कार्बाहीको प्रक्रियामा रहेको अध्यक्ष घिमिरेले बताउनुभएको छ । प्रशासकिय अदालतमा मुद्धा फैसलाको अबधि १ बर्षको भएपनि ३ देखि ७ महिनामा मुद्धा फस्र्योट हुने अध्यक्ष घिमिरेको दाबी छ । कुनै बिषयमा निर्णय वा फैसला गर्दा फैसलाको अधिकार छ कि छैन ?,अधिकार भएपनि निमित्तले गर्न हुँदैन ? र टिप्पणी÷आदेश उठाएर फैसला गर्नुहुँदैन भन्ने कुरामा ध्यान दिन उहाँले बिभागिय प्रमुखलाई निर्देशन दिनुभएको छ । 

जिल्ला अदालत अर्घाखाँचीका श्रेस्तेदार महेश खनालले प्रशासकिय न्याय र प्रशासकिय अधिकार क्षेत्रको बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको  कार्यक्रममा प्रमख जिल्ला अधिकारी मिना अर्यालले मन्तव्य राख्दै राष्ट्रसेवक कर्मचारी स्थायी सरकार भएको बताउनुभएको छ । पछिल्लो समय कर्मचारी र नागरिकबिचको बिस्वश्नियतामा ह्रास आएको भन्दै प्र.जि.अ.अर्यालले जनताको अपेक्षा अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । जनता र कर्मचारीबीचको सम्बन्ध सुमधुर भएमात्र राज्यसंग जनता सन्तुष्ट हुने प्रमुख जिल्ला अधिकारी अर्यालको भनाई छ । 

जिल्ला अदालतका सुचना अधिकारी टेकराज गैरेले स्वागत गर्नुभएको कार्यक्रममा जिल्ला स्थित स्थानिय सरकारका प्रमुख प्रशासकिय अधिकृत,सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि,विभिन्न सघसस्थाका प्रमुख तथा प्रतिनिधि तथा पत्रकारहरुको समेत आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्