नेपालबाट संघियता नहटे देश थप संकटमा फस्नेछः अध्यक्ष के.सी.

| २०७९ चैत १२ गते २१: ४१ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
चैत्र–१२,अर्घाखाँची- राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन के.सी.ले नेपालबाट संघियता नहटे देश थप संकटमा फस्ने बताउनुभएको छ । 

चरम भ्रष्टाचार,कालोबजारी र बेथितिले अर्थतन्त्रलाई अप्ठ्यारोमा लगिरहेको अवस्थामा संघियताले थोपारेको खर्चभार मुलुकले थेग्न नसक्ने उहाँको जिकिर छ । राष्ट्रिय जनमोर्चाको केन्द्रिय कार्यक्रम अनुसार आज उक्त पार्टीले सन्धिखर्कमा आयोजना गरेको संघियता बिरुद्धको बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष के.सी.ले यस्तो बताउनुभएको हो । 

मुलुकमा भारतीय साम्राज्यवादसँगै अमेरिकी साम्राज्यवादको चलखेल बढेको बताउँदै उहाँले राष्ट्रियता पनि कमजोर बन्दै गएको बताउनुभएको छ । नेपालका सत्ताधारीहरू भारतको मात्र नभइ अमेरिकी साम्राज्यवादका सामु समेत लम्पसार पर्न थालेको अध्यक्ष के.सी.ले गम्भिर आरोप लगाउनुभएको छ । नेपालमाथि निरन्तर हस्तक्षेप गर्दै आएको भारतसंगै एमसिसी र एसपिपी लिएर अमेरिका आएको भन्दै अध्यक्ष के.सी.ले सबैखाले बैदेशिक हस्तक्षेपका बिरुद्ध एक हुन आम जनतालाई अपिल गर्नुभएको छ ।

 राष्ट्रिय जनमोर्चाका निर्वतमान सन्धिखर्क नगर अध्यक्ष कमल प्रसाद घिमिरेको संचलनमा सम्पन्न बिरोधसभामा राजमो लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर वि.सी.सहितका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्