अर्घाखाँची अस्पतालमा आँखा बहिरंग सेवा र शीघ्र कुपोषण उपचार केन्द्र सञ्चालन

| २०७९ चैत २३ गते १८: ०९ मा प्रकाशित

प्रेमनारायाण आचार्य,अर्घाखाँची। अर्घाखाँची अस्पताल अस्पतालमा आज मंगलबार तीन वटा सेवाहरू सञ्चालनको शुभारम्भ गरिएको छ। 

अस्पतालमा आँखा बहिरंग सेवा, शीघ्र कुपोषणका लागि एकीकृत व्यवस्थापनका लागि बहिरंग उपचार केन्द्रको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले रिबन काटेर समुद्धाटन गरेका छन्। सन्धिखर्क नगरपालिकाले खरिद गरेको शवबाहन अर्घाखाँची अस्पताललाई हस्तान्तरण गरिएको छ। 

जिल्ला अस्पतालमा आँखा उपचारको सेवा नहुँदा उपचारका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता रहेकोमा अब एउटै भवनबाट सेवा प्रवाह गरिएको अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए। 

उनले सुगर, प्रेसर जस्ता रोगहरूका बिरामीहरूका लागि पनि आँखा उपचार अति आवश्यक रहेकोमा अब यो सेवाले बिरामीलाई सहज हुने बताए। 

सरकारले एउटै भवन बाट अर्थात एकै स्थानबाट सबै सेवाहरू प्रदान गर्नका लागि लिएको नीति अनुरुप यो सेवा सञ्चालन भएको र यो सेवाले बिरामीहरूलाई प्रत्यक्ष लाभ पुग्ने प्रमुख जिल्ला अधिकारी मिना अर्यालको भनाइ छ। 

लुम्बिनी प्रदेश सरकारबाट आँखाको डाक्टर आए पनि उपचारका लागि उपकरण नभएको अवस्थामा सन्धिखर्क नगरपालिकाले सहयोग गरेको ५ लाख रुपैयाँमा आँखा उपचारका लागि उपकरण खरिद गरेर आँखा उपचारको बहिरंग सेवा शुभारम्भ गरेको अर्घाखाँची अस्पतालका अध्यक्ष श्रीकृष्ण भुसालले बताए। 

कोभिडको समयमा मृत्यु भएका मानिसको शव समेत उठाउन नसकर भयावह भएको  अवस्थालाई दृष्टिगत गरी नगरपालिकाले शववाहन खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको भनाइ छ।

सन्धिखर्क नगरपालिकाले खरिद गरेको शववाहन तथा भन्सार शुल्क गरि झण्डै २५ लाखको लागतमा शववाहन खरिद गरेर अर्घाखाँची अस्पताललाई हस्तान्तरण गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको भनाइ छ। 

कुपोषणबाट ग्रसित बालबालिकाहरूका लागि लक्षित गरी शीघ्र कुपोषणका लागि एकीकृत व्यवस्थापनका लागि बहिरंग उपचार केन्द्रको शुभारम्भ गरिएको हो। बालबालिकालाई कुपोषणबाट बचाउन र स्वस्थ बच्चा बनाउन यो उपचार केन्द्र स्थापना भएको हो। 

प्रतिक्रिया दिनुहोस्