अर्घाखाँँचीका २९ वटा अतिरिक्त हुलाक कार्यालय बन्द: अतिरिक्त हुलाक खारेज गर्ने सरकारको निर्णयका बिरुद्ध कर्मचारी आन्दोलित

| २०८० जेठ १९ गते १९: २७ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
जेठ–१८,अर्घाखाँची- जेठ १८ गतेदेखि अर्घाखाँचीका अतिरिक्त हुलाक कार्यालय बन्द भएका छन् । सरकारले आगामी आर्थिक बर्षदेखि अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि कर्मचारीले बिरोध स्वरुप अतिरिक्त हुलाक कार्यालय बन्द गराएका हुन् । 

अतिरिक्त हुलाक कर्मचारी एशोसियसन अर्घाखाँँचीका अध्यक्ष बुद्धि बहादुर भट्टराईको नेतृत्वमा बुधवार सन्धिखर्कमा आएका अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरुले ज्ञापनपत्र बुझाउँदै जेठ १८ गतेदेखि अनिश्चित कालको लागि अतिरिक्त हुलाक कार्यालय बन्द गर्ने जानकारी गराएका हुन् । जिल्लाभर रहेका २९ वटा अतिरिक्त हुलाकका प्रतिनिधिहरुको सहभागितामा जिल्ला हुलाक कार्यालय अर्घाखाँँचीमा उनिहरुले ज्ञापनपत्र बुझाएका हुन् । निमित्त हुलाक प्रमुख मदन भट्टराईलाई बुझाएको ज्ञापनपत्रमा अतिरिक्त हुलाक कर्मचारी एशोसियसनसंग रायसमेत नमागि हुलाक खारेज गर्ने गरि सरकारले गरेको निर्णय फिर्ता लिनुपर्ने माग गरिएको छ । 

यस्तै आर्थिक बर्ष २०७७÷०७८ देखि नबढेको तलब बृद्धि गर्नुपर्ने र अतिरिक्त हुलाक ऐन २०३४ खारेज गरि नयाँ नियमावली लागु गर्नुपर्ने माग गरिएको छ । आफुहरुका माग पुरा नभए अतिरिक्त हुलाक कर्मचारी एशोसियसन केन्द्रिय समितिकै आयोजनामा देशभर चरणबद्ध आन्दोलन चर्काउने उनिहरुको चेतावनी छ । ज्ञापनपत्र बुझ्दै निमित्त हुलाक प्रमुख मदन भट्टराईले कर्मचारीका मागप्रति आफु सकरात्मक रहेको भन्दै कर्मचारीका मागलाई केन्द्रमा पुर्याइदिने वचन दिनुभएको छ । 

आर्थिक बर्ष २०८०÷०८१ को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डाक्टर प्रकाशसरण महतले अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्