चीनबाट ल्याइएको कोरोना खोप क–कसले पाउँछन् ?

| २०७८ असार २५ गते ११: २३ मा प्रकाशित

चीनबाट खरिद गरेर ल्याइएको कोरोनाविरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो प्राथमिकता दिएर लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसपछि ५५ देखि ६० वर्ष उमेर समूहका लाई लगाउने योजना मन्त्रालयको छ ।

चीनको सिनोफार्म कम्पनीबाट सरकारले हालै ४० लाख डोज खरिदको सम्झौता गरेको छ । सो सम्झौता अनुसार पहिलो खेपमा आठ लाख डोज खोप शुक्रबार बिहान काठमाडौं आइपुगेको छ । यसपछि पनि नेपाल एयरलाइन्सको जहाजमार्फत् निरन्तर खोप ल्याइने सरकारको योजना छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले अनलाइनखबरसँग भने, ‘खोप लगाउन ६० देखि ६४ वर्ष उमेर समूह पहिलो प्राथमिकतामा छन् । त्यसपछि ५५ देखि ६० वर्षकालाई र अन्य समूहलाई दिन्छौं । तर अन्य समूहबारे भने निर्णय भइसकेको छैन ।’

उनले चीनबाट ल्याइएको खोप प्रदेशका भण्डारण स्थलमा पठाउन पनि तत्काल सुरु गरिने बताए । ‘खोपको सबै विवरण कम्प्युटरमा इन्ट्री गर्ने काम सकिनासाथ प्रदेशहरुमा पठाउँछौं,’ उनले भने । खोपलाई निश्चित तापक्रममा राख्नु पर्ने हुन्छ । त्यसका लागि पर्याप्त ठाउँ नभएकाले चीनबाट आउनासाथै काठमाडौं उपत्यका बाहिर खोप पठाउन सुरु गरिने मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए ।

नेपाल ल्याइएको खोप त्रिभुवन विमानस्थलको चिस्यान भण्डारणमा राखिएको छ । टेकु र पथलैयामा पनि केन्द्रीय स्तरका भण्डारण केन्द्र छन् । हेटौंडा, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा क्षेत्रीय स्तरका भण्डारण केन्द्रहरू छन् । यदि खोप राख्ने स्थान अभाव भएमा निजी वा अन्य सरकारी कार्यालयका भण्डारण केन्द्रमा खोप राख्ने योजना रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

भण्डारण केन्द्रमा खोप पुर्याइसकेपछि जिल्ला–जिल्लामा खोप लगाउन सुरु गरिने सरकारको योजना छ ।

चिनियाँ भेरोसेल खोप दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिन्छ । नखोली राखिएको यो खोप दुई वर्षसम्म प्रयोग गर्न सकिन्छ । यदि सिल खोलेर खोप लगाउन सुरु गरियो भने छ घण्टाभित्र खोप दिइसक्नुपर्ने जानकारहरु बताउँछन् । भेरोसेल खोप दुई डोज लगाउनुपर्छ ।

यो समाचार अनलाई खबरमा साभार छ। 

प्रतिक्रिया दिनुहोस्