विप्लव नेकपाका नेता भन्छन्– राज्यले सहमति कार्यान्वयन गरेन

| २०७८ असार १६ गते २२: १३ मा प्रकाशित
गुरुदेव खनाल फोटोग्राफर

गुरुदेव खनालका अन्य रिपोर्टहरु :

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षको ३ बुँदे सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् । गत २१ फागुनमा सरकारसँग भएको ३ बुँदे सहमतिप्रति आफ्नो पार्टी इमानदार रही कार्यान्वयनको दिशामा गइरहे पनि राज्यले आफ्नो भूमिकालाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको उनले बताए । 

उनले सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाउँदा पार्टी, कार्यकर्ता नागरिकहरू दुःखी भएको बताए । ३ बुँदे सहमतिअनुसार जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाइ गर्ने काममा पनि ढिला-सुस्ती भएको उनको गुनासो छ । 

विप्लव नेकपाले राजधानीमा आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै लामाले राज्य आफूले गरेको सहमतिप्रति उत्तरदायी भई कार्यान्वयनमा इमानदार बन्नुपर्ने बताए । 

उनले भने, ‘राष्ट्रिय राजनीतिमा निराशा छाएको छ । राजनीतिक पार्टीप्रति, सरकारप्रति, राजनीतिक व्यवस्थाप्रति अहिले मानिस सन्तुष्ट छैनन् । त्यसकारणले हाम्रो पार्टीले प्रगतिशील सरकार, जनमतसंग्रह र वैज्ञानिक समाजवादमार्फत नागरिकमा छाएको निराशालाई हल गर्ने र एकपटक नेपाली जनता आफैँले जनमत प्रयोग गरेर आफ्नो शासन व्यवस्था छिनोफानो गर्ने वातावरण राज्यले बनाउनुपर्छ भनेर हाम्रो पार्टीले अपिल गरेको छ, तर दुर्भाग्य हाम्रा ३ बुँदे सहमति, सरकार र हाम्रो पार्टीबीच भएको थियो फागुन २१ गते, धेरै कमरेडहरू अझै पनि जेलमा हुनुहुन्छ । छुट्नुभएको छैन ।

 हाम्रो प्रतिबद्धताप्रति हाम्रो पार्टी इमानदार छ । कार्यान्वयनको दिशामा हाम्रो पार्टी गइरहेकै छ, तर राज्यले आफ्नो भूमिकालाई जसरी इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्थ्यो, ३ बुँदे सहमति कार्यान्वयनमा राज्यले तदारुकता नदेखाएकोमा अहिले राजनीतिक पार्टी, कार्यकर्ता र नागरिकहरू दुःखी छन् । यो पाटोमा राज्यले आफूलाई समयमा नै इमानदारीपूर्वक उभ्याओस् ।’ रक्तदान कार्यक्रममा दुई सय ५० जनाले रगत दिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्