यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबारदेखि लामो दुरीका गाडी चलाउने चेतावनी

| २०७८ असार १७ गते १४: १४ मा प्रकाशित

काठमाडौं । यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार ९असार १८० देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएको छ। तर व्यवसायीले सबै खालका सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला कोभिड–१९ ले १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र ध्वस्त हुने अवस्था आएकाले सरकारी निषेधाज्ञा अवज्ञा गरेरै भए पनि सार्वजनिक यातायात सञ्चालन गर्ने बताउँछन्। ‘बजारलगायत सबै क्षेत्र खुलिसक्यो। तर सार्वजनिक यातायात मात्रै रोकेर हुँदैन,’ उनले भने, ‘असार १८ गतेदेखि सडकमा उत्रिन्छौं। सरकारले जे गर्न मन लाग्छ गर्छ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटै यातायात मजदुर संगठनले गत असार १४ गते नै संयुक्त विज्ञप्ति जारी गरेर आगामी असार १८ गते अर्थात शुक्रबारसम्म देशभरका सम्पूर्ण सार्वजनिक यातायातका साधन आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने चेतावनी दिएका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गत असार १४ गते गरेको २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोरबिजोरका आधारमा चल्न दिने गरी गरेको अव्यवहारिक निर्णय सच्याउन माग गर्दै आइरहेको बताए। ‘तीनवटै जिल्लाका सिडियो सापले अव्यवहारिक निर्णय गर्नुभएको छ। त्यसैले तत्कालै सच्याउनुको विकल्प छैन,’ उनले भने, ‘निर्णय नसच्याए यही असार १८ गतेदेखि देशभरका सम्पूर्ण सार्वजनिक सवारीका साधन सञ्चालन गरिने हाम्रो साझा धारणा सिडिओ सापलाई जानकारी गराइसकेका छौं।’ नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्