सरकार संग नेकपाले गर्‍यो भेट, आफ्ना कार्यकर्ता छोड्न १० दिने म्याद

| २०७८ असार २० गते २१: १३ मा प्रकाशित

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सहमति अनुसार आफ्ना नेता कार्यकर्ता नछुटेको भन्दै असन्तुष्टि जनाएको छ।

वार्ता टोलीका संयोजक तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र नेता धर्मेन्द्र बास्तोलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टी जनाएको छ ।

सरकारसँग तीन बुँदे सहमति भएपछि २०७७ फागुन २१ गतेदेखि नेकपा खुल्ला राजनीतिमा आएको थियो ।

सहमतिमा विप्लव नेकपा शान्तिपूर्ण राजनीतिमा आउने र सरकारले प्रतिबन्ध फुकुवा गरेर कारागारमा रहेका नेता कार्यकर्ता रिहा गर्ने भनिएको थियो । तर, सहमति अनुसार अहिलेपनि थुप्रै नेता कार्यकर्ता नछुटेको नेकपाको भनाई छ ।

भेटका क्रममा आफूहरुले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रवक्ता प्रकाण्डले जानकारी दिए ।

भेटका क्रममा कम्तिमा १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रकाण्डको भनाई छ ।

उनले भने,“३ बुँदेलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा हामी पुगेका छौं, बन्दीलाई छिट्टै छाड्नुपर्ने हामीले भनेका छौं ।”

सहमति कार्यान्वयन नभए त्यसको ठूलो मूल्य सरकारले चुकाउनुपर्ने उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्