आज पाँचवटा प्रदेशमा ठूलो, तीन वटा प्रदेशमा धेरै ठूलो वर्षा हुने सम्भावना

| २०७८ असार २४ गते ११: ५९ मा प्रकाशित

काठमाडौं।आज (बिहीबार) देशका अधिकांश स्थानमा वर्षा हुने र केही ठाउँमा धेरै ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बिहान पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

दिउँसो भने प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।साथै सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशााखाले बिहीबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ: प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै तथा सुदूर पश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम सम्म वर्षाको सम्भावना छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका का एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना देखिन्छ। त्यसैले उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्