अदालतको फैसलाअघि ओलीसँग कुनै सम्झौता हुँदैन : माधव नेपाल

| २०७८ असार २७ गते १८: २४ मा प्रकाशित

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले भने प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला नआएसम्म कुनैपनि सहमति वा सम्झौता नगर्ने जवाफ दिएका छन्। कार्यदलको बैठकको बीचबाटै माधव नेपालनिकट नेता घनश्याम भुषाल नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए।

नेता भुषाललाई नेपालले अदालतको फैसला नआएसम्म अध्यक्ष ओलीसँग कुनै सहमति गर्न नसकिने जवाफ दिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए। नेता भुषाल नेपाल निवास पुगेको बेला नेपाल भने आफूनिकट केन्द्रीय सदस्यहरुसँग भर्चुअल मिटिङमा थिए। उक्त बैठकमा पनि नेता नेपालले अदालतको फैसला आएपछिमात्रै सहमति पत्रमा हस्ताक्षर गर्न सकिने बताएका थिए।

नेकपा (एमाले) को कार्यदलको बैठक सिंहदरबारमा जारी छ। उता, कार्यदलका सदस्यहरु कुरेर अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा अझैपनि स्थायी कमिटी बैठक सुरु गरेका छैनन्। कार्यदलका सदस्य पुगेपछि मात्रै बैठक सुरु गर्ने भनिएको छ।

 

प्रतिक्रिया दिनुहोस्