नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड’बीच भेटघाट

| २०७८ असार ३० गते २०: ३१ मा प्रकाशित

काठमान्डौं । पछिल्लो भूमिगत जीवनबाट सार्वजनिक भएको लामो समय भइसक्दा पनि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिएनन् । तर, उनले अचानक बुधबार खुमलटार गएर प्रचण्डसँग भेटघाट गरे।

सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र अन्य दुई केन्द्रीय सदस्यसहित प्रचण्ड निवास खुमलटार पुगेका विप्लवले पूर्व माओवादी घटकहरुबीच एकताको प्रस्ताव प्रचण्डसँग गरेका छन् ।

‘बदलिएको परिस्थितिमा सहकार्य र साझेदारीको प्रस्ताव लिएर प्रचण्डलाई भेट्न विप्लव खुमलटार जानु भएको हो,’ खुमलटारनिकट स्रोत भन्छ, ‘पुरानो माओवादीहरुबीचमा एकीरकणबारे छलफल भएको हो । पुरानो एमाले मिल्छ भने पुरानो माओवादी पनि मिल्नुपर्‍यो नि।’

पूर्व माओवादी घटकहरुबीच एकताको विषयमा कुरा भएको हो भन्ने प्रश्नमा प्रचण्डको निजी सचिवालयका एकजना सदस्यले भने-‘सबै कम्युनिष्टहरु ध्रुविकृत हुनुपर्छ, केन्द्रिकृत हुनुपर्छ भनेर अध्यक्ष्यले सार्वजनिक रुपमा आह्वान गरिरहनु भएको छ । यो विषयमा कुरा नहुने भन्ने हुँदैन।’

माओवादी विद्रोहको महत्वपूर्ण समयमा साथमै रहे पनि विप्लव पछिल्लो समय प्रचण्डको कटु आलोचक मानिन्छन् । उनले लामो समय प्रचण्डसँग भेटवार्ता गरेका थिएनन् । प्रचण्डको पहलमा शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको भोलिपल्ट प्रचण्ड भेट्न विप्लव खुमलटार पुग्नुलाई धेरैले अर्थपूर्ण मानेका छन् ।

तर, प्रचण्डको निजी सचिवालय भने आज भेट्नुका पछाडि विशेष कारण नभएको बताउँछ। ‘अहिलेका समसामयिक विषयमा कुराकानी भयो,’ ती सदस्य भन्छन्, ‘भेटौं भन्ने कुरा पहिले नै भइरहेको थियो, आज समय मिलेर भेटेको हो । अरु यसको कारण केही छैन् ।’

अब दुई नेताहरुबीच नियमित भेटघाट हुने बताइएको छ । भेटघाटको पहल दुवै तर्फबाट भएको थियो । पूर्व पोलिटव्युरो सदस्य एवम् प्रदेशसभा सदस्य डिबी खराल, पूर्व माओवादी बाल सैनिक संगठनका अध्यक्ष लेलिन बिष्ट लगायतले भेटघाटको पहल गरेका थिए।

गत फागुन २१ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लवबीच तीन बुँदे सहमति भएको थियो। विप्लवले ओली सरकारले उक्त सहमति पालना नगरेर धोका दिएको भन्दै नयाँ सरकारले आफूसँगका सहमति कार्यान्वयन गर्नुपर्ने माग समेत प्रचण्डसँग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्