कांग्रेस पदाधिकारी बैठक : नेतामाथि आ'क्र'म'ण गर्नेहरुलाई कारबाही गर्न निर्देशन

| २०७८ सावन २ गते २०: २३ मा प्रकाशित

काठमाडौँ — नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आ'क्र'म'ण गर्नेहरुलाई कारबाही गर्ने भएको छ ।

शनिबार बसेको पार्टीको पदाधिकारी बैठकले पार्टीको आसन्न १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिनका लागि गठित समिति सदस्य घिमिरेमाथि आ'क्र'म'ण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र संलग्न अन्य कार्यकर्ताहरुलाई कारबाही गर्न पार्टी अनुशासन समितिलाई निर्देशन दिएको हो ।

शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आ'क्र'म'णमा संलग्न नेता, कार्यकर्ताहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण लिई ३ दिनभित्र कारबाही गर्न सभापति देउवाले अनुशासन समितिलाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बस्नेत नेतृत्वको टोलीले शुक्रबार बिहान पार्टीका केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए । सोही घटना पार्टीको अनुशासनविपरीत रहेको निष्कर्ष निकाल्दै कांग्रेसले कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको हो ।

प्रवक्ता शर्माले भने, 'आजको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेर ल्याएको पत्र बमोजिम नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत एवम् सो आक्रमणको घटनामा संलग्न भएका व्यक्तिहरुउपर २४ घण्टाभित्र स्पष्टिकरण सोधेर ३ दिनभित्र संगठनको अनुशासनको कारबाही गर्नका लागि पार्टी सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिनु भएको छ ।'

बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई सहयोग गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेको छ । विधिसम्मत प्रक्रियालाई आत्मसात गर्दै क्रियाशील सदस्यता छानबिन समितिले काम गरिरहेको र त्यसलाई सहयोग गर्न पनि पार्टीपंक्तिलाई आह्वान गरिएको प्रवक्ता शर्माले बताए ।

बैठकले महाधिवेशनको क्रममा कुनै पनि खालको अराजक गतिविधि नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको छ । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६–१९ गतेका लागि तोकिएको छ ।

ekantipur

प्रतिक्रिया दिनुहोस्