संसदमा ओली आए, प्रधानमन्त्री देउवासँग हात मिलाए

| २०७८ सावन ३ गते २१: ४६ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको आजको दोस्रो बैठक सुरू भएको चार घन्टापछि ओली बैठकमा सहभागी भएका हुन्।

यसअघि ओली संसद भवनमा भए पनि बैठकमा सहभागी थिएनन्।

विश्वासको प्रस्तावमाथि भएको छलफलका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाले ओली बैठकमा नआएकोबारे कुरा उठाएका थिए।

प्रचण्डले ओली प्रधानमन्त्री देउवाको सपथमा पनि नआएको उल्लेख गर्दै उनले आजको संसद बैठकबाट आफ्नो कुरा राख्ने आफूले अपेक्षा गरेको बताएका थिए। प्रधानमन्त्री देउवाले ओली आएको भए आफू खुसी हुने बताएका थिए।

छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री देउवाले जवाफ दिएपछि ओली बैठकमा गएका हुन्।

उनले बैठकस्थलमा प्रधानमन्त्री देउवासँग हात मिलाएका छन्। देउवा प्रधानमन्त्री भएपछि उनीहरूबीच यो पहिलो भेट हो।

सेतो पाटि 

प्रतिक्रिया दिनुहोस्