अफगानिस्तानमा रहेका नेपालीहरुलाई शिघ्र उद्वार गर्न अन्तराष्ट्रिय नेपाली एकता समाजको माग

| २०७८ सावन ३२ गते १७: ५२ मा प्रकाशित

काठमाण्डौ। अन्तर्राष्ट्रिय नेपाली एकता समाजले अफगानिस्तानका नेपालीको तत्कालै उद्धार गर्न द्रुत संयन्त्र निर्माण गर्न आग्रह गरेको छ ।समाजका अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा २०७८ साउन ३२ गते प्रेसक्तव्य जारी गर्दै यस्तो आग्रह गरिएको हो ।

एकता समाजले नेपालीको तत्काल उद्धार गर्नका लागि प्रधानमन्त्री, मन्त्रिपरिषद् र परराष्ट्र मन्त्रालयलाई गम्भीर हुनसमेत आग्रह गरेको छ ।

प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

“पछिल्लो केही समययता अफगानिस्तानमा सरकार र विद्रोही समूह तालिबानमाझ द्वन्द्व चर्किँदै गइरहेको छ । त्यस क्रममा तालिबान पक्षले थुप्रै प्रान्तीय राजधानीमा नियन्त्रण कायम गरेको दावी गरिएको छ भने सरकारी सुरक्षाफौजले पनि विद्रोही तालिबानलाई नियन्त्रणमा लिएको बताइरहेको छ । त्यहाँ यस प्रकारको आन्तरिक द्वन्द्वमा परी ठुलो सङ्ख्यामा दुवै पक्षका लडाकुहरूको मृत्यु भएको, त्यत्तिकै सङ्ख्यामा घाइते भएको र थुप्रै परिवार घरबारविहीन भएको सञ्चार माध्यमले उल्लेख गरिरहेका छन् ।

अफगानिस्तानमा रोजगारीको सिलसिलामा थुप्रै नेपाली पुगेका छन् । त्यहाँ पुगेका नेपालीमध्ये कतिपयले सुरक्षाक्षेत्रमा काम गरिरहेका छन् भने कतिपय गैरसुरक्षा क्षेत्रमा समेत काम गरिरहेका छन् । यद्यपि सरकारसित त्यससम्बन्धी यथार्थ तथ्याङ्क छैन, न त अफगानिस्तानमा रहेका नेपालीको समस्या सम्बोधनका लागि सरकारसित उपयुक्त संयन्त्र नै छ । यस प्रकारको अवस्थामा त्यहाँको आन्तरिक द्वन्द्वबाट नेपाली नागरिक गम्भीर प्रकारले प्रभावित भइरहँदासमेत उनीहरूको उद्धारको कार्य हुन सकिरहेको छैन ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाज नेपाल सरकारसित अफगानिस्तानमा रहेका नेपालीको समस्या सम्बोधन गर्नका लागि द्रुत गतिमा काम गर्न आग्रह गर्दछ । त्यस क्रममा परराष्ट्र मन्त्रालयअन्तर्गत एउटा द्रुत संयन्त्र निर्माण गर्न आग्रह गर्दछ, जसले सक्रियतापूर्वक कूटनीतिक माध्यमबाट त्यहाँ रहेका नेपालीको शीघ्र उद्धार गर्न सकोस् । हामी यस सम्बन्धमा प्रधानमन्त्री, मन्त्रिपरिषद् र परराष्ट्र मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौँ ।”

प्रतिक्रिया दिनुहोस्