'मंगलबारसम्म १० बुँदे कार्यान्वयन नभए विद्रोह'

कार्यदलका सदस्यहरूको तर्क– माधव नेपालले पार्टी गठनमा हतार गर्नुभयो

| २०७८ भदौ ४ गते २१: १७ मा प्रकाशित

नयाँ पार्टी गठनमा माधव नेपाललाई साथ नदिएका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी ओलीले मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयन नगरे बिद्रोह हुने चेतावनी दिएका छन्।

महाराजञ्जस्थित एक पार्टी प्यालेसमा बसेको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले ओली सहमतिप्रति इमान्दार नभएमा एकताको बाटो बन्द हुने बताएका थिए।

१० बुँदेको अक्षरस पालना भएमा माधव नेपाललाई समेत पुनर्विचार गर्न दबाब पुग्ने उनीहरुको तर्क छ। ‘मंगलबारसम्म पनि १० बुँदे सहमति तलैसम्म लागू नभएमा ओलीले बोलेको कार्यान्वयन गर्दैनन् भन्ने प्रमाणित हुन्छ।

त्यस्तो अवस्थामा माधव नेपालले लगाउँदै आएको आरोप सत्य रहेछ भन्ने हुन्छ’ बैठकको धारणाबारे एक केन्द्रीय सदस्यले भने, ‘पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थामा नफर्काएमा बुधबार माधव नेपाल नेतृत्वमा पार्टी गठन हुन्छ। त्यसमा सनाखत गर्न हाम्रा धेरै साथीहरु जान बाध्य हुन्छन्।’

बैठकमा बोल्नेहरुले माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता गर्न ढिलो भएको समेत धारणा राखेका थिए।

जेठ २ को अवस्थाका कमिटीहरु ब्युँताउने र कारबाही फिर्ता लिने हो भने नेपालसँग गएका नेताहरुसमेत फर्किन सक्ने कतिपय केन्द्रीय सदस्यहरुको दावी थियो। तर ओलीले इमान्दारिता नदेखाएमा भने बिद्रोह हुने र माधव नेपालको पक्षमा जानेको संख्या ठूलो हुने उनीहरुको तर्क छ।

बैठकमा कार्यदलका सदस्यहरुले पार्टी एकता अझै पनि संभव रहेको ब्रिफिङ गरेका थिए। उनीहरुले आफूहरुले एकताको लागि प्रयास गरिरहेको तर माधव नेपालले नयाँ पार्टी गठन गर्न हतार गरेको बताएका थिए। 

यद्यपि जेठ २ मा फर्किने र १४ सांसदको कारबाही फिर्ता लिन ओली तयार नभएमा उनीसँग एकता गाह्रो रहेको उनीहरुको तर्क थियो। माधव नेपालले पार्टी गठनका लागि दिएको निवेदन फिर्ता लिनुपर्ने समेत उनीहरुको भनाइ छ।

साभार:- सेतो पाटि 

प्रतिक्रिया दिनुहोस्