मृत धर्माकुमारीको काखमा ३२ महिने छोराको भावुक बस-यात्रा

| २०७८ भदौ ६ गते ०१: ०९ मा प्रकाशित

काठमाडौं । सामाजिक संजालमा मृत आमाको काखमा शान्त रहेर सुतिरहेको एक बालकको तस्वीर यतिखेर भाइरल बनेको छ । जसले आम मानिसलाई भावुक बनाएको छ । उक्त तस्वीर हो, रुकुमपश्चिम आठबिसकोट नगरपालिका- ९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनका ३२ महिने छोराकाे ।

बिहीबार यात्राको क्रममा धर्माकुमारीको बसमै निधन भएकाे थियाे । त्यसपछि काखमा रहेकाे उनको छोरा बसकाे सिटबाट खसेर रोएपछि मात्रै बसका अन्य यात्रुहरुले थाहा पाएछन्, उनी मृत भइसकिन् भनेर । स्थानीयका अनुसार उनी लामो समयबाट मुटुको समस्याले ग्रसित थिइन् । उनले स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार गराए पनि सन्चो नभएपछि श्रीमानसँग सल्लाहमै उपचारको लागि नेपालगञ्ज जाने निर्णय गरेकी थिइन् । उनका श्रीमान नेपालगन्जमर् कार्यरत रहेकाे बताइएकाे छ ।

सोही अनुसार उनी बिहीबार राति बस चढेर नेपालगञ्जतर्फ हिँडिन् । काखमा ३२ महिनाको छोरा थियाे । छाेरालाइ छाडेर जाने अवस्था नभएपछि काखमै बाेकेर हिँडिन् । उनका श्रीमान दलबहादुर बटाला नेपालगञ्जमै ठेकापट्टाको काम गर्दै आएकाले उनकाे उपचारको लागि बोलाएका थिए । स्थानीयका अनुसार श्रीमान बाहिरै भएकाले घरको सबै व्यवस्थापन गरेर घर रेखदेख गर्ने जिम्मा छिमेकीलाई दिइएको थियो ।

यात्राकै क्रममा पटक-पटक श्रीमान्-श्रीमतीबीच कुराकानी भएको थियो । उनले श्रीमानलाई आफ्नो अवस्था सामान्य भएको बताउँदै आएकी थिइन् । तर यात्राका क्रममै उनले असहज भएको भनेपछि बसका स्टाफले दोस्रो सिटमा ल्याएर बच्चासँगै राखेका थिए । यात्राकै क्रममा छिप्पिँदो रातसँगै उनकाे प्राण गएछ ।

त्यसपछि मृतककाे काखकाे बच्चा सिटबाट झरेर राेएछ ।  हेर्दा उनको निधन भएको पाइएपछि अन्य यात्रुहरु अत्तालिएका थिए ।  बच्चा रोइकराइ गरेपछि फकाउनका लागि मृत आमाकै काखमा राखिएको थियो । उक्त भावुक तस्बीर अहिले सामाजिक संजालमा भाइरल बनेको हाे ।

बस नेपालगञ्ज पुर्याइएपछि श्रीमान दलबहादुरले जिवित हुने आशामा विभन्न अस्पताल पुर्याएका थिए । तर चिकित्सकहरुले धर्माकुमारीलाई मृत घोषणा गरेका थिए । दलबहादुरले पहिलाको श्रीमतीले छोडेपछि धर्माकुमारीलाई दोस्रो बिहे गरेर ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्