कर्णालीसँग जिस्किँदा.. बिष्णु प्रसाद पराजुली

| २०७८ भदौ ६ गते १९: ५० मा प्रकाशित

उनलाई नजिकबाट स्पर्श गर्ने मेरो पहिलैदेखिको सपना यस पटक समयले पुरा गरि दिँदा म कम्ता खुसी छैन । सधैं कति अप्रतक्ष्य वार्तालाप र मिठा कल्पनामा डुब्नु भन्दै यस पटक म भेट्न आउने कुराले उनी पनि खुसी थिईन ।भारतको उकुसमुस चिर्दै उनीसँगको मिठो भेट अनि स्वर्गीय स्पर्शको कल्पनामा डुब्दै म यात्रामा थिएँ । भेट्ने ठाउँ सुन्दरपश्चिमको चिसापानी तय भएको थियो । मध्यरातमाम चिसापानी झर्दा उनी मेरो पर्खाईमा रहिछन् त्यो निस्पट्ट रातको कुनै वास्ता नगरि । उनको सिमाना टेक्दा नै मलाई त्यो मिठो सुस्केरा र सुगन्धित पवनले स्पर्श गरिसकेकी थिइन।

कलकल...सुमधुर आवाजका साथ उनको त्यो स्वागतले मन फुरुँग भाथ्यो । म निकै हतारिएको थिएँ, उनीसँग मिठा बात मार्न र न्यायो त्यो अंगालोमा बेरिएर जिस्किन । रातथोरै बाँकी थियो बात धेरै गर्नु थियो, त्यसैले आराम गरे । भोलीपल्ट बिहान सूर्यले उनको त्यो सुन्दर लोप लाग्दो बदनमा नजर नझार्दै उनको आफ्नो मिठो स्पर्श दिइसकेकी थिइन मलाई ।

 त्यो लोभी सूर्यलाई मैंले यस पटक जितेरै छोडें । नत्र जहिले पनि अगाडी दौडिन्थ्यो र मलाई आफ्नो पछि दौडाउथ्यो घडीको सुई भएर । त्यो सूर्यले डाँडामाथिबाट नियालेर हेर्न नपाउदैं उनी र मबिच धेरै बात भैसकेका थिए, वाचा कसम बाँधिसकेका थिए । कल्पनाको प्यास मेटिदै थियो ।युगौं युगौंको सम्झना र टाढा हुँदाको झल्को मेटाउने साथी त्यो तस्बिर भिन्नभिन्न अवस्थामा खिच्दै क्यामरामा कैद गरे ।बिचरा त्यो सूर्य । उनी र म जिस्केर बात मारि मारि रमाईरहेको देखेर डाहले झन झन आँखा तर्दै थियो । त्यो पारिलो राफले मलाई थकित परि आफू रमाउन खोज्दै गरेको भान मलाई हुन्थ्यो । निरन्तर झन तेज हुँदै आफ्ना ईश्र्यालु नजर मेरी उनीमाथि फिजाउँदै अत्तरयुक्त उनको बदनमा राज गर्न चाहन्थ्यो पनि ।तर, त्यसको त्यो ईश्र्याले मेरी उनी झन सुन्दर अनि टिल टिल...चमचम...गर्दै चाँदी झैं टल्किँदै गरेको देख्दा बाटोका बटुवाहरु पनि एकछिन तस्बिर लिन्थे र राल घोट्दै जान्थे । म जस्तै हजारौं हजारको मन लोभ्याउने सुन्दरता उनीमा छ । धेरै परदेशीहरु मेरी उनीसँग तस्बिर लिन र एकछिन भएपनि रमाउन तछाड मछाड गर्न लागेको देख्दा यो मनमा कता कता चसक्कहुन्थ्यो । 

हाम्रो जातै शंकालु भन्छन्, र पो यो मन पनि....।हुन त उनले भनेकी थिइनम सबैलाई खुसी देख्न चाहन्छु, सबैको मुहारमा हाँसो होस, मलाई माया गर्ने सबैलाई म मेरो छहारीमा बस्न दिन्छु र तिनका सबै पिर ब्यथा, दिकदारी एकछिन भए पनि बिसाउन । तर, त्यो भन्दैमा यो दिल सबैलाई दिएकी छैन ।किनकी, त्यसो गर्दा मेरो अस्तित्व मेटिन सक्छ, मेरो सुन्दरता हराउन सक्छ, म दुर्गन्धित बन्न सक्छु । मैले जोडेको उत्तर र दक्षिणको सम्बन्ध, रचेको इतिहास, पाएको चर्चाले मेरो देश गर्व गर्छ अरु सामु ।म यी कुराहरुमा निकै सजग छु, म सँगैकी काली बेचिएको तितो यर्थातले मेरो मन मगजमा ताजै छ । काली बेचिएको खबरले म कति रोए कति....।तर, कसैले मेरो चित्कार सुनेन र मेरो आवाज गुमनाम भयो । नसुन्नेहरुले ममाथि पनि गिद्धे नजर लाएका कारण बेचिएकी काली अझै फिर्ता हुन सकेकी छैन् ।नेपाल माटोको देह फाडेर बगेकी काली आज छिमेकीको सुख्खा जमिन सिंन्चितगरि उब्जनी दिन बाध्य छे । ती फोहरी जिउ पखाली तिनका अन्धकार बजार बस्ती झिलीमिली पारेकी छे । तिनै शहरमा कमली र माईली हाम्री चेलीहरु नरकीय जीवन बिताउन बाध्य छन् ।बिडम्बना,कालीको मातृभूमी अन्धकार, सुख्खा र गरिबीबाट गुर्जिरहेको आज वर्षौ भैसक्यो । बिचरी कालीको मन कती रुँदो हो ? आफ्नै मातृभूमीको यो हालत देख्दा ।

धन्य कर्णाली !तिमी कती चिन्तित छौं मेरो देशका लागि र आफ्नो भविष्यका लागि । कालीको कालो कहानीबाट भयभित तिमीआफूसँग भएको सुन्दरता, अपार जलाशय र अमुल्य उर्जा सम्पत्तिले आफ्नो देश सुसम्पन्न होस भन्ने चाहन्छेउ । त्यो तिम्रो उत्कट देश प्रेमी चाहनालाई म ह्दयदेखि नैं सलाम गर्छु ।यतिभन्दै गर्दा उनको स्नेही छालले मलाई भिजाउँदै भनिन्, हेर्नुस यो मेरो सुन्दरता र सम्पन्नताको स्वार्थका लागि कतिपय ब्वाँसाहरु देश भक्तिको खोल ओढेर आउँछन् त कतिपय नाटकीय प्रेमी बनेर मलाई लुट्न चाहन्छन् ।मैले प्रण गरे, हेर कर्णाली मैले तिमीलाई मेरी आमाको दर्जामा राखेको छु । म तिमीलाई काली बेचिए जसरी बेचिन दिने छैन् । म मेटिन तयार छु, तर कालीको हालत हुन दिने छैन । तिम्रो सुन्दरता र सम्पन्नता थप प्रगाढ बनाउँदै मेरो घर, समाज र देश सिँगार्ने छु ।यसरी म उनकै अंगालो मै बाँधिएर बात मारिरहँदा पारि उनकै बगंैचामा दुई मयूर ढल्की ढल्की नाचिरहेका थिए । अति नैं मनमोहक दृष्यका माझ फुलेकी मेरी कर्णाली, वाह ! क्या गजबछौं कर्णाली ।म उनकै मृग नयनीको सागरमा चुरुलुम्म डुब्दै उनीसँग जिस्किँदै काउकुती लगाउँदै, घरि चिमोट्दै, उनलाई हँसाई राखे । यो सम्बन्ध कुनै एक पलको थिएन । 

 उनी मसँग भन्दै थिइन यसरी आएर मसँग केही समय रमाउने, तस्बिरसँगै टाँसिएर खिच्नेहरु धेरै आए र गए । तर, यसरी मनको कुरा नखोलेको बताइन मेरी कर्णालीले । म निकै दंग भए, यति गहिरो माया र मनको कुरा साट्न पाएँ उनीसँग । कति भाग्यमानी आफैं खुसीले गदगद ।यस्तैगरि भलाकुसारी गर्दै थियौं । तर, मन एका एक भारी भएर आयो । किन कि मलाई बागमतीले त्रिशुली हुदैं फर्किन खबर गरिसकेको थियो र कर्णालीलाई गहिरो माया र सम्झना भन्दिनु भन्दै । मैलै मेरी कर्णालीसँग छुट्टिने अनुमति लिएँ ।उनले आफ्नो मुस्कान सहितको छालले चुम्मन गर्दै मलाई बिदा गरिन । मैंले पनि मेरी कर्णालीको स्वाभिमान अझ उँचो राख्नेर त्यो कालीको झै अवस्था हुन नदिने बाचा गर्दै फर्किए मनभरि त्यही सुन्दरता सँगाल्दै । तर, उनी निरन्तर मुस्कुराइ रहिन, मनमा केहि सपना बोकी । मैले नजरले भ्याएसम्म हेरि रहें घुम्तीले आँखा नछेक्दासम्म ।

आहा मेरी कर्णाली, यसरी नै तिमी मुस्कुराई रहनु ल ।
बिष्णु  प्रसाद पराजुली

प्रतिक्रिया दिनुहोस्