दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु : अध्यक्ष नेपाल

| २०७८ भदौ १२ गते १७: ५७ मा प्रकाशित

काठमाडौँ। नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गरेका छन् ।

अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोड्न तयार रहेको घोषणा गरे । आफ्नो पार्टी निकट पेशागत महासंघ, नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले पदका लागि कहिल्यै पनि लडाइँ नगरेको पटकपटक दोहोर्‍याए ।

अध्यक्ष नेपालले भने, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भनि हाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु, भएन ? पदको लडाइँ होइन यो । विचारको लडाइँ हो यो । सिद्धान्तको लडाइँ हो यो । मूल्य र मान्यताको लडाइँ हो यो।’

अध्यक्ष नेपालले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको तर्क समेत गरे । उनले आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । आफूविरुद्ध कुप्रचार भइरहेको भन्दै अध्यक्ष नेपालले त्यस्ता झूट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले भने, ‘खाली कूप्रचार बाहेक केही पनि छैन । यस्ता झुटा प्रचारको भ्रममा कोही पनि नपर्नुहोस् । उनीहरुको काम नै गोयबल्स शैलीको प्रचार गर्ने हो । मान्छेको चरित्र हत्या गर्ने प्रवृत्ति हो । यस्ता प्रवृत्ति भएका मान्छेहरु इमान्दार, क्रान्तिकारी कम्युनिस्ट हुन सक्छन् ?’

अध्यक्ष नेपालले समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भइ काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको पनि बताए । सो अभियानमा पदलोलुप नभइ काम गर्न उनले पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिए ।

 

प्रतिक्रिया दिनुहोस्