संखुवासभा सामूहिक हत्या : नगद र गरगहना सुरक्षित भेटियो, कुकुरले दिएन कुनै संकेत

| २०७८ भदौ २३ गते १७: ५८ मा प्रकाशित

काठमाडौं । झापामा ८० लाख रुपैयाँमा जग्गा तयारीमा रहेको संखुवासभाको कार्की परिवारका ६ जना मारिएपछि धेरैको आशंका थियो, लुटपाटको उद्देश्यले हत्या भएको हुनसक्छ ।

तर प्रहरीले मंगलबार साँझसम्म गरेको अनुसन्धानले घटनामा लुटपाट वा आर्थिक विषय जोडिएको आशंकालाई कमजोर बनाएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसारे घरमा कोही व्यक्ति जबरजस्ती प्रवेश गरेको देखिएको छैन ।

घरभित्र भएका सम्पत्ति जस्ताका तस्तै छन् । अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालका अनुसार घरमा ४ लाख ७१ हजार रुपैयाँ भेटिएको छ, कानमा लगाएको मुद्री, तिलहरी लगायतका गहना पनि चलाइएको छैन । ‘चोरी गर्ने उद्देश्य भएको भए गरगहना पनि लग्थे होला तर सबै ठिक छन्’ उनले अनलाइनखबरसँग भने ।

प्रदेश नं. १ का प्रहरी प्रमुख अरुणकुमार बिसी पनि आर्थिक पाटोबारे चर्चा भए पनि अनुसन्धानमा सहयोगी नभएको बताउँछन् । ‘चोरी वा लुटपाटलाई जोडेर हेर्ने प्रयास पनि गर्‍यौं, तर त्यसलाई पुष्टि गर्ने कुनै आधार भेटिएको छैन’ उनले भने, ‘घटना पछाडि अरु नै कारण पनि हुनसक्छन्, अनुसन्धान भइरहेको छ ।’

घटनामा लुटपाट वा चोरीको विषय नजोडिएपछि अनुसन्धान थप जटिल बनेको अधिकृतहरु बताउँछन् ।

छिमेकीले किन थाहा पाएनन् ?

सोमबार घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले संघीय प्रहरी कार्यालय, धरानबाट कुकुरसहितको टोली र फेरेन्सिक सम्बन्धी तालिम प्राप्त चिकित्सकलाई घटनास्थलमा लगेको थियो ।

चिकित्सकले शवको प्रकृति हेरेर बिहान झिसमिसमा घटना भएको हुनसक्ने भनेका छन् । प्रहरी पनि खेतमा मृत भेटिएका ५१ वर्षीय तेजबहादुर कार्कीको खुट्टामा बुट भएकाले बिहान घटना भएको हुनसक्ने बताउँछ । ‘उहाँले अघिल्लो दिन बिहान धान गोड्न जाने बताउनुभएको रहेछ’ प्रहरी स्रोत भन्छ, ‘त्यसैको लागि खेतमा जानु भएको हुनसक्छ ।’

घटनाको अनुसन्धानमा संलग्न एसपी दाहाल पनि घटनास्थल घर बाहिरै रहेको बताउँछन् ।  ८४ वर्षीया वृद्धा पार्वती कार्कीको चाहिँ घरभित्रै हत्या भएको प्रहरी बताउँछ ।

चिकित्सकले दिएको रायपछि अनुसन्धानमा संलग्न अधिकृतहरुले पछाडिबाट लौरो वा मुंग्रो जस्तो कुराले गम्भीर चोट लाग्ने गरी हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान गरेका छन्
प्रहरीका अनुसार ५२ वर्षीय तेजबहादुर, उनकी श्रीमती ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव तीन बेग्लाबेग्लै स्थानमा भेटिएको थियो ।

नाती नातिनाको शव घरदेखि माथिको खरबारीमा भेटिएको थियो भने तेजबहादुरको शव सडकमा थियो । रञ्जना र कमलाको शव घर नजिकैको खोल्सोमा भेटिएको थियो ।

तर बिहानको समयमा घटना हुँदा छरछिमेकले चाहिँ किन थाहा पाएनन् भन्ने प्रश्न पनि उठेको छ । अनुसन्धानमा संलग्न स्रोतका अनुसार कार्की परिवारका छिमेकीहरुले बिहान कुनै शंकास्पद आवाज नसुनेको बयान दिएका छन् ।

प्रहरीले बिहान पानी परेको र नजिकै खोला रहेकाले आवाज आइरहने हुँदा अरुले थाहा नपाएको हुनसक्ने पनि अनुमान गरेको छ ।

कुकुरले दिएन संकेत

सोमबार साँझ संखुवासभामा कुकुर पुगेपछि स्निफिङ गराइएको थियो । तर त्यति प्रभावकारी हुन नसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन् ।

‘बेलुकी गरिएको स्निफिङ त्यति प्रभावकारी भएन, बिहान फेरि प्रयास गर्‍यौं’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘तर राति पानी परेकाले त्यो पनि फलदायी भएन ।’ स्रोतका अनुसार ‘पिकु’ र ‘लैला’ नामका ट्याकर डगलाई सबूत सुघाँएर छाड्दा शव छरिएका जति सबैतिर घुमेको थियो ।

तर त्यहाँबाट बाहिर कुकुरले दिशा पहिल्याउन सकेन । घटना भएलगत्तै स्थानीयको भीड जम्मा हुनु र पानी परेकाले पनि कुकुर अल्मलिएको हुनसक्ने अनुसन्धान अधिकृत बताउँछन् । यद्यपि कुकुर अनुसन्धानको एउटा सहयोगी विधि मात्र भएको र अन्य विभिन्न पाटोबाट छानविन भइरहेको अधिकृतहरु बताउँछन् ।

टाउकोमा गम्भीर चोटका कारण मृत्यु

मंगलबार बिहान डग स्निफिङ गराएपछि शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो । त्यसक्रममा प्रारम्भिक जाँचबुझ गरेर चिकित्सकहरुले मृतक ५ जनाकै टाउकोमा गम्भीर चोट देखिएको र त्यही कारणले मृत्यु भएको बताएका छन् ।

चिकित्सकले दिएको रायपछि अनुसन्धानमा संलग्न अधिकृतहरुले पछाडिबाट लौरो वा मुंग्रो जस्तो कुराले गम्भीर चोट लाग्ने गरी हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् । तर घटनास्थल वरपर हत्यामा प्रयोग भएको हुनसक्ने कुनै वस्तु फेला परेको छैन ।

प्राविधिक विश्लेषणको आश

हालसम्म प्रहरीले दर्जनौं व्यक्तिलाई बोलाएर बयान लिइसकेको छ । घटनापछि गाउँबाट हराएका व्यक्तिबारे प्रहरीले सोधीखोजी गरिरहेको छ । तर हालसम्म ठोस कुरा हात लागेको छैन ।

गाउँमा नयाँ व्यक्ति आए कि भन्ने पाटोमा पनि छानविन भइरहे पनि कसैले बताएका छैनन् । बरु प्रहरीले घटना भएको आसपासको समयमा त्यसक्षेत्रमा सक्रिय मोबाइल फोनहरुको विश्लेषण गरिरहेको छ । त्यसबाट केही सुराक हात लाग्न सक्ने प्रहरीको अनुमान छ ।

मृतकका कल डिटेल रेकर्ड पनि प्रहरीले विश्लेषण गरिरहेको छ । प्राविधिक पाटोमा सहयोग गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट डीएसपी रुगम कुँवर नेतृत्वको टोली पनि संखुवासभा गएको छ ।

हालसम्म कार्की परिवारको कसैसँग रिसिइबी पनि देखिएको छैन ।स्रोत - अनलाइन  खबर 

प्रतिक्रिया दिनुहोस्