पहिरोग्रस्त क्षेत्रको अवलोकनमा गएका बुटवलका मेयरमाथि मुक्का प्रहार

| २०७८ असोज ४ गते १३: ३५ मा प्रकाशित

बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्।

केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए।

आज सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले मुक्का हानेका हुन्। 

प्रहरीको सुरक्षाका बीच हिँडिरहेका बेला एक जना पहिरो पीडितले मेयरमाथि आक्रमण गरेका हुन्। मुक्का प्रहार भएपछि प्रहरीले मेयरलाई जोगाएर लगेका थिए। 

पहिरोले विस्थापित भएको लामो समयसम्म पनि उचित व्यवस्थापन नगरेको भन्दै स्थानीय असन्तुष्ट थिए। तिनैमध्येका एकले मेयरलाई मुक्का हानेका हुन्।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्‍याउनुका साथै बिजुलीको पोल पनि बगाएको थियो। 

प्रतिक्रिया दिनुहोस्