संखुवासभा सामूहिक हत्या प्रकरण: हत्यामा ५ जनाको संलग्नता, मुख्य योजनाकार लोकबहादुरका काका

| २०७८ असोज ४ गते १४: ३२ मा प्रकाशित

काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप ४ जनाको संलग्नता देखिएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा  अन्यको पनि संलग्नता देखिएपछि थप ४ जनालाई पक्राउ गरिएको एसपी भीम दाहालले  बताए ।

दाहालका अनुसार पक्राउ पर्नेमा लोकबहादुरका बुबा रणबहादुर कार्की, भाइ नरेश कार्की, काका खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर कार्की छन् । अनुसन्धानबाट घटनाको मुख्य योजनाकार काका खड्गबहादुर भएको खुलेको दाहालले बताए ।

संखुवासभा सामूहिक हत्याकाण्डका संलग्न भएको भन्दै प्रहरीले सार्वजनिक गरेका व्यक्तिहरु । तस्वीर स्रोत : नेपाल प्रहरी
घटना हुनुअघिल्लो दिन राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र नरेश मिलेर तेजबहादुर कार्कीको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । २१ भदौमा तेजबहादुर खेताला बोलाउन आउने भएकाले त्यही मौकामा तेजबहादुर र कमलको हत्या गर्ने योजना बनाएको पाइएको प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

अन्यले थाहा पाए उनीहरुको पनि हत्या गर्ने योजना रहेको प्रहरीले भनेको छ ।

२१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो । ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा स्थानीय लोकबहादुर कार्की र उनका भाइ नरेशलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो । अन्य केही व्यक्तिहरू माथि प्रहरीले अनुसन्धान थालेको थियो ।स्रोत - अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्