परिवर्तनका संबाहक युवा हुन भन्ने कुराकाे आत्मसात गर्दै आगामि राजनितिक यात्रा तय गर्नका लागि मेराे उम्मेद्वारी : क्षेत्रीय सचिव पदका उम्मेदवार नारायण भुसाल

| २०७८ असोज ६ गते १७: ५७ मा प्रकाशित

"विश्वका हरेक परिवर्तनमा युवाको महत्वपूर्ण योगदान हुन्छ । राज्यको उदयसँगै राष्ट्र निर्माण तथा समाजको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा पनि युवाको भूमिका सधै अग्रणी रहँदैआएको छ । युवा नै परिवर्तनका वाहक हुन् र समाजलाई नेतृत्व दिने शक्ति हुन् । नेपालमा सानाठूला सबै आन्दोलनमा युवाको भूमिका कुनै न कुनैरूपमा महत्वपूर्ण रहँदै आएको छ । 

यस जटिल अवस्थामा हामी आफ्ना व्यक्तिगत समस्याबाट माथि उठेर एक आपसमा सद्भाव राख्दैं देश निर्माणमा लाग्नु आजको आवश्यकता हो । आपसी सद्भावको यही भावलाई आत्मसाथ गर्दै तथा सीमित स्रोतको अधिकतम प्रयोग गरी देश विकासमा लाग्नु आजका युवाको जिम्मेवारी हो । युवा देशका कर्णधार हुन् तर देशको अन्योलपूर्ण परिस्थितिले गर्दा आज नेपाल लगभग युवाशून्य देश बन्दैं छ । युवाको मनस्थितिमा विदेसिनुबाहेकको कुनै विकल्प र सिर्जनशीलता देखिँदैंन । यस्तो स्थितिबाट मुक्ति दिलाउन र देशको समग्र विकासको निम्ति राजनीतिक दलका युवा लागि नपर्दासम्म केही हुँदैन । युवाले चाहे भने जस्तोसुकै परिवर्तन पनि सम्भव छ ।

लोकतन्त्रको स्थापना र यसको विकासको निम्ति राजनीतिक चेतना र संस्कार अपरिहार्य हुन्छ । यसैले राजनीतिक पार्टीका युवा यसका लागि सबैभन्दा बढी उपयोगी हुनसक्छन् । तर आज निष्ठाको राजनीति गर्न चाहने युवा पार्टीभित्रको गुट र उपगुटको शिकार भइराखेका छन् । यसले गर्दा धेरै युवामा नैराश्य उत्पन्न भएको छ ।  

पुराना सोच र दिमागबाट नयाँ नेपालको परिकल्पना गर्न सकिँदैन । चाहेर होस् या नचाहेर अब नेपाली युवाको काँधमा जिम्मेवारी आउदैँछ र त्यो केही युवा नेताले कुनै न कुनैरूपमा बहन गरिसकेका छन् । समयसँगै युवा पनि बदलिनुपर्छ र आफूसँगै देशलाई पनि बदल्नुपर्छ । आर्थिक क्रान्तिको दिशामा मुलुकलाई लैजान विकासका निमित्त सर्वत्र दबाब सिर्जना गर्नुपर्छ । युवा समूह अन्य उमेर समूहभन्दा चेतनशील र उर्जावान हुन्छ । तसर्थ आफ्नो तन, मन, वचन र कर्मले राष्ट्रिय विकासका निमित्त युवा लाग्न जरुरी छ । तबमात्र हामी सुन्दर भविष्यको कल्पना गर्न सक्छौं ।

परिवर्तनका सम्वाहक, समाजको समृद्धिको मेरुदण्ड भनेको त्यो समाजको युवा शक्ति नै हो । युवा उमेर मात्र होइन, युवा प्रवृत्ति हो, दृष्टिकोण, जोश, जाँगर र हिम्मत हो । यो कुनै पनि देशको भविष्यको सबैभन्दा ठूलो पूँजी हो । युवा शक्तिकै बलमा मात्र देश, दुनियाँ र समाज अगाडि बढ्न सक्छ । चाहे त्यो विश्वम युद्धताका हिटलरको पालामा होस् वा प्रविधिको युगमा होस्, युवा वर्ग नै हो युद्धमा होमिएर आफ्नो देशको अस्तित्व बचाउने, युवा वर्ग नै हो नयाँ प्रविधिको खोज अनुसन्धान गरेर विश्वमाझ आफू र आफ्नो राष्ट्रलाई चिनाउने । समृद्ध नेपालको सपना असम्भव होइन, युवाले चाहेमा समृद्ध नेपाल सम्भव बन्नेछ ।
 संसार परिवर्तन गर्न चाहनेले सुरुआत पहिले आफैँबाट गर्नुपर्छ । 

त्यसकारण युवा वर्गले अब निराशामा होइन, आशामा बाँच्नुपर्छ । विगतको चिन्ता होइन, भविष्यको चिन्तन गर्न थाल्नुपर्छ अनिमात्र सम्भव हुन्छ समृद्ध राष्ट्रको सपना । समृद्ध नेपालको पूर्वसर्त भनेकै नयाँ सोच र ऊर्जाशील नेतृत्व हो । राजनीतिलाई एउटा फोहोरी खेल भनेर यसबाट पन्छिन खोज्ने युवा मानसिकतालाई तोडेर अब सबै क्षेत्रमा युवा नेतृत्वको आवश्यकता छ र मुलुकको नेतृत्व गर्न आफूलाई विकास गर्दै नयाँ सोच, नयाँ विचार र ऊर्जाशील भएर लाग्नुपर्छ । राष्ट्र निर्माणमा मात्र आवश्यकता छ त युवाको अनुसन्धानको, युवाको सिर्जनाशीलताको, नवीनताको, उद्यमशीलताको र युवाकै नैतिक नेतृत्वको ।

देशमा विद्यमान समस्याको पहिले पहिचान गरेर त्यसको समाधानको बहस अब युवा वर्गले चलाउनु पर्छ । देशलाई कसरी विकास गर्न सकिन्छ भन्ने कुराको बहसमा युवा स्वयं संलग्न र क्रियाशील भई विकास र समृद्धिको नयाँ दृष्टिकोण एवम् योजना निर्माण गर्नुपर्छ ।  अनुशासित, स्वावलम्बी, सिर्जनशील र उद्यमशील युवा जनशक्ति अर्काे महत्वपूर्ण आधार हो । राष्ट्रिय पहिचान, राष्ट्रिय गौरव एवम् स्वाभिमानयुक्त नीति र नेतृत्वबाट मात्र युवा वर्गमा आशा, भरोसा र उत्प्रेरणा जगाउन सकिन्छ । यसका लागि मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, विकास निर्माणलगायत हरेक क्षेत्रमा युवाले नै नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नुपर्दछ । तसर्थ, राष्ट्र निर्माणका लागि अब युवा नै अघि सर्नुपर्छ, युवाले नै यसको नेतृत्व लिनुपर्छ । भन्ने मुल मर्म र भनाईलाई आत्मसात गर्दै मैले आफ्नाे उम्मेद्वारि दिने निर्णय गरेकाे छु आशा छ यहाँहरुले अवश्यपनि सहयाेग गर्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस्