माधव नेपाल छाडेकालाई ओलीले दिएनन् जिम्मेवारी

| २०७८ असोज ९ गते १६: ३८ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल गरेको छ ।

राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदन गरि तीन दस्तावेजमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ । र, तीनै दस्तावेजका लागि १० वटै समूहबाट टोली नेता चयन पनि गरिएको छ ।

तर, माधव नेपालको साथ छाडेर एमालेमै बसेका तेस्रो धारका नेताहरुले भने कुनै समूहबाट कुनै जिम्मेवारी पाएका छैनन् । तेस्रो धारका नेताहरु पार्टी एकता गर्न १० बुँदा जस्ताको तस्तै पारित गर्न माग गर्नुपर्ने अडानमा रहेका छन् ।

तर, अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार विधान महाधिवेशन र १० बुँदे माग फरक रहेको भन्दै कुनै एजेन्डा नमिल्ने बताएका थिए । आज शनिबार दस्तावेजमाथि छलफल गर्न बनाइएको १० समूहमा उनीहरु कोही परेका छैनन् ।

सबै प्रदेशबाट ओलीनिकट नेताहरु मात्र चयन गरिएको छ । प्रदेश नं. १ बाट हिक्मत कार्की, प्रदेश नं. २ बाट रामचन्द्र मण्डल, बागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकी प्रदेशबाट जगत विश्वकर्मा, लुम्बिनी प्रदेशबाट दलबहादुर राना, कर्णाली प्रदेशबाट यमलाल कँडेल, सुदूरपश्चिम प्रदेशबाट कर्ण थापा, विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले चयन भएका छन् ।

१० समूहले ल्याएको सुझावपछि अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्