आफैं मतदान गर्न भुल्दा पराजित

| २०७८ असोज ९ गते १८: ११ मा प्रकाशित

कपिलवस्त। दौडादौड र मत माग्ने चटारोका बीच आफैंले मतदान गर्न बिर्सिंदा कांग्रेसको नगर वडा समितिको अध्यक्षका प्रत्यासी पराजित भएका छन् । कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष पदका उम्मेदवार निर्मल शर्मा दाहालले शुक्रबार आफ्नो मत हाल्न भुल्दा उनका प्रतिद्वन्द्वी विकास सिंह ‘गगन’ विजयी भएका हुन् । 

सिंहले ७७ मत पाएर विजयी भएको निर्वाचन अधिकृत विकास बन्जाडेले बताए । ‘प्रतिद्वन्द्वी दाहालले ७६ मत प्राप्त गरेका थिए,’ बन्जाडेले भने, ‘उनले मत हाल्न बिर्सिएछन्, हालेको भए बराबरी हुन्थ्यो ।’ गोलाप्रथाबाट निर्णय हुने थियो ।

वडा समितिको निर्वाचनमा १ सय ६२ मत खसेको थियो । ९ मत बदर भएको थियो । वडा समितिका उपसभापतिलगायत २६ सदस्य बिहीबार निर्विरोध भएका थिए ।

त्यस्तै १६ क्षेत्रीय प्रतिनिधि पनि निर्विरोध भएका थिए । अध्यक्षमा सहमति हुन नसकेपछि सिंह र दाहालबीच शुक्रबार निर्वाचन भएको हो ।source- ekantipur.com

 

प्रतिक्रिया दिनुहोस्