विप्लव सहितका २६ दलले २२ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने

| २०७८ असोज १३ गते १८: ५१ मा प्रकाशित

गुरुदेब खनाल ,काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित २६ दलिय मोर्चाले असोज २२ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएका छन् । देउवा सरकारले पास गर्न खोजिरहेको अमेरिकी परियोजना एमसीसीको विरोधमा उक्त प्रदर्शन गर्न लागेको मोर्चा आवाद्द पार्टीहरुले जनाएका छन् ।

ओली सरकारले लगाएको प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएको नेकपासहितका विभिन्न पार्टीहरुले संयुक्त मोर्चा बनाएर एमसीसीविरुद्ध विभिन्न किसिमका आन्दोलन गर्दै आएका छन् । संयुक्त मोर्चाले नेपालको संसदबाट एमसीसी कुनै पनि समय पारित हुन सक्ने भन्दै उक्त परियोजना पूर्णतया खारेज नभएसम्म निरन्तर आन्दोलन जारी राख्ने जनाएको छ।

मंगलबार ललितपुरको कुपन्डोलमा सम्पन्न एमसीसी खारेजी अभियानको बैठकले देशभक्त सङ्गठनको सङ्घर्षका कारण उत्पन्न दबाब र विभिन्न पार्टी-सङ्गठनभित्रको विरोधका कारण एमसीसी सम्झौता तत्कालका लागि संसद्को कार्यसूचीमा सामेल हुन नसकेको भए पनि विदेशी शक्ति केन्द्रहरूको चलखेलका कारण देउवा सरकारले यो राष्ट्रघाती सम्झौता कुनै पनि बेला अनुमोदन गराउन सक्छ भन्दै यसलाई खारेज नगराउँदासम्म संघर्षलाई निरन्तर अघि बढाइरहने निर्णय गरेको छ ।

एमसीसी विरोध कार्यक्रम असोज २२ गते दिनको १२ बजे माइतीघर मण्डलाबाट जुलुस सुरु गरेर संसद् भवनअघि पुगी विरोधसभा गर्ने निर्णय भएको बैठकपछि एमसीसी सम्झौता खारेजी आन्दोलनका तर्फबाट सीपी गजुरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै बैठकले विरोध कार्यक्रममा सहभागी हुन सबै देशभक्त शक्तिहरू, सङ्गठनहरू र व्यक्तिहरूलाई आह्वान गर्ने निर्णय पनि गरेको छ ।

विगतको केपी ओली सरकार र विप्लवले नेतृत्व गरेको नेकपाकाबीच फागुन २१ मा भएको लिखित सहमतिअनुसार नेकपाका सबै नेता–कार्यकर्ता रिहा भइसक्नुपर्नेमा अदालती प्रक्रिया पूरा गरेर थुनामुक्त भएकाबाहेक कसैलाई रिहा नगरिएको भन्दै लिखित सहमतिमा उल्लिखित सर्तका आधारमा उक्त पार्टीका नेता र कार्यकर्ताहरूलाई अविलम्ब रिहा गर्न उक्त बैठकले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्