तिहारमा बिजुली अभाव हुँदैन, ढुक्कसँग चलाउनुस् : कुलमान घिसिङ

| २०७८ कार्तिक १६ गते १८: ०८ मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन् ।

मंगलबार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका हुन् । यस वर्षको तिहारमा करिब १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको उनको भनाइ छ ।

उनले अहिले कुलेखानीको विद्युत खेर गइरहेको भन्दै प्रसारणका कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने बताए । घिसिङले आम उपभोक्ताहरुलाई ढुक्कसँग विद्युत चलाउन पनि आग्रह गरे ।

‘यो तिहारमा हामीले १५ सय मोगावाट भन्दा बढी एक्सपोज गरेका छैनौं, हामीसँग जेनेरेसन अहिलेसम्मको करिब २ हजार प्लस मेगावाटमा हामी जलविद्युत मात्रै उत्पादन जडित क्षमता छ, १५–१६ सय जलविद्युत अप्रेसनमा छ,’ उनले भने, ‘बत्ती काट्ने, लोडसेडिङ गर्ने कुनै अवस्था छैन । सबै उपभोक्ताले निर्धक्कसँग तिहारमा झिलिमिली गर्दा हुन्छ ।’

कार्यकारी निर्देशक घिसिङले समय–समयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको भन्दै वितरण प्रणालीमा व्यापक सुधार गर्ने बताए । उनले ट्रान्सफर्मरको समस्या धेरै रहेको र अब तत्काल त्यसको समाधान हुने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्