एमालेभित्र नेतृत्वलाई अस्वीकार गर्ने शैली अन्त्य हुनैपर्छ : थापा

| २०७८ मंसिर ६ गते १८: ०९ मा प्रकाशित

काठमाडौं। नेकपा एमालेका नेता रामबहादुर थापाले आफूहरूले पार्टीको दशौं महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रीय कमिटी निर्माण गर्न चाहेको बताएका छन्। पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजक समेत रहेका नेता थापाले आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सरकार बनाउने गरी सो महाधिवेशनबाट ओली नेतृत्वमा सक्षम केन्द्रीय कमिटी निर्माण गरेर अघि बढ्ने बताएका हुन्।

‘हामी चितवनबाट कमरेड केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय समितिको निर्माण गरेर हामी एउटा सक्षम नेतृत्व निर्माण गर्न चाहन्छौं,’ उनले भने, ‘र, यो देशको जिम्मेवारी त्यो नेतृत्वलाई हामी दिन चाहन्छौं। १० औं राष्ट्रिय महाधिवेशनबाट हामी यो सन्देश दिन चाहन्छौं।’ पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्को कार्यक्रममा नेता थापाले पार्टीभित्रको संगठनात्मक अराजकता परास्त गर्नै पर्ने पनि बताए।

नेतृत्वलाई अस्वीकार गर्ने संगठनात्मक अराजकता पराजित नभए समाजवादको लक्ष्य प्राप्त नहुने उनको भनाई छ। मुलुकको नेतृत्व एमालेमा फर्काउन पनि यो जरुरी रहेको उनको तर्क थियो। ‘पार्टीभित्रको संगठनात्मक अराजकताकै कारण राजकीय सत्तामा दक्षिणपन्थी हाबी भए। नेतृत्वलाई अस्वीकार गर्दै पुँजीपतिसँग सहकार्य गर्दा वामपन्थी शक्ति एमाले प्रतिपक्ष हुन पुग्यो। नेतृत्वलाई सत्तामा पुनर्स्थापित गर्न पार्टीभित्रको संगठनात्मक अराजकता पराजय हुनैपर्छ,’ उनले भने।

१० औँ महाधिवेशनबाट पार्टीभित्रका संगठनात्मक अराजकताको अन्त्य हुने थापाको दाबी छ। उनले परमादेशबाट बनेको सरकार र सत्तारुढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः राजकीय सत्तामा पुग्न पनि ओलीजस्ता समक्ष नेतृत्व पार्टीका लागि आवश्यक रहेको तर्क समेत गरे। एमालेको नेतृत्वमा मात्रै मुलुक समृद्ध हुने र नेपाली जनताले सुख पाउने थापाको दाबी छ।

प्रतिक्रिया दिनुहोस्