खानेपानीको हाँहाँकार भएको मुसिकोट नगरपालिका मा "एक घर एक धारा" भएपछि मुसिकोट बासिमा खुसियाली

| २०७८ पौष १ गते १८: १६ मा प्रकाशित

एसपी भुसाल। कुनै समय खानेपानीको हाँहाँकार हुने गुल्मीको मुसिकोट नगरपालिकाको अधिकांश माथिल्लो बस्ती अहिले ‘एक घर एक धारा’ अभियानका कारण पानीको सहज उपलब्धताको उदाहरण बन्ने निश्चित छ । विभिन्न वडाका टोलबासी एक गाग्रो पानीका लागि मध्य रातदेखि बिहान खाना खाने बेलासम्म पँधेरोमा लाइन लाग्नु पर्दथ्यो । पँधेरामा यसरी सास्ती खेपेर पानी ओसार्नेमध्येका एक हुन् ७० वर्ष नाघेका भर्तेवारीका  डिलबहादुर विश्वकर्मा ।

अहिले उनीसहित त्यस टोलका घर घरमा धाराबाट पानी बग्ने गरेको छ । पानीको हाहाकार भोगेका विश्वकर्मालाई घर मै धारा बग्नु सपनाजस्तै लागेको छ । मुसिकोटका जनप्रतिनिधिहरुले ‘एक घर एक धारा’ कार्यक्रम अगाडि सारेदेखि झण्डै ५० वटा खानेपानी योजना सम्पन्न गरिसकेका छन् भने अन्य खानेपानी योजना सम्पन्न हुने चरणमा छन् ।

कुनै समय तल खोलाको पानी ट्याक्टरमा लिटरको हिसावले किनेर पिउन बाध्य स्थानीय बासिन्दालाई त्यही खोलाको पानी लिफ्ट सिस्टमको खानेपानी योजनामार्फत माथिल्लो सुख्खा बस्तीमा आउँदा अनौठो लागेको हो ।

मुसिकोट नगरपालिकाकी वास संयोजक सीता भुसालका अनुसार ७ हजार ५८ घरधुरी रहेको मुसिकोट नगरपालिकामा हालसम्म ४ हजार ८३२ घरधुरीमा ‘एक घर एक धारा’ कार्यक्रम पुगेको छ । भुसालका अनुसार मुसिकोट नगरपालिकाका जनप्रतिनिधिहरुले कार्यभार सम्हालेदेखि हाल सम्म ४४ वटा खानेपानी योजना सम्पन्न गरेका छन्। वडा नम्बर १ को साविक पौदीअमराई गाविसमा विभिन्न ६ वटा, वडा नम्बर २ मा ७ वटा, वडा नम्बर ३ मा ७ वटा, वडा नम्बर ४ मा ५ वटा, वडा नम्बर ५ मा ४ वटा खानेपानी योजना सम्पन्न भएका छन् । यस्तै, वडा नम्बर ६ मा ५ वटा, वडा नम्बर ७ मा ३ वटा, वडा नम्बर ८ मा ३ वटा, वडा नम्बर ९ मा ४ वटा खानेपानी योजना सम्पन्न भएको छ ।

नगर प्रमुख सोमनाथ सापकोटाका अनुसार चालु आर्थिक वर्षमा सम्पन्न हुने चरणमा १६ वटा खानेपानी योजना छन् । ती योजना सम्पन्न हुँदा ८० देखि ९० प्रतिशत घरधुरीमा ‘एक घर एक धारा’ पुग्ने छ ।

आफूले कार्यभार सम्हालेको सय दिनभित्र उज्यालो नगर बनाउने प्रतिवद्धता चुनावी घोषणा पत्रमा उल्लेख गरिएको र त्यसलाई पूरा गरिएको उनले बताए । ‘एक घर एक धारा’ पनि घोषणा पत्रमा उल्लेख भएअनुसार आफ्नै कार्यकालमा सम्पन्न गर्ने चरणमा रहेको उनले सुनाए । खरको छानामुक्त नगर बनाउने प्रतिवद्धता शत प्रतिशत सम्पन्न गरेको उनको भनाइ छ ।

उनका अनुसार खानेपानी योजनामा मात्रै हालसम्म प्रदेश सरकार र मुसिकोट नगरपालिकाबाट गरी करिव १ अर्ब खर्च भएको छ । ९९३ वटा खरको छाना भएको घरमा जस्ता पाताले छाइएको र पूर्वाधार विकासमा पनि नगरपालिकाले उल्लेख्य विकास गरेको उपप्रमुख कमला शर्माको दावी छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले पूर्वाधार विकासमा प्रभावकारी काम गराउन जनप्रतिनिधि र कर्मचारीको निगरानीमा सानो रकमका योजनामा समेत टेण्डर प्रकृयाबाट काम गराएको बताए । सबै वडामा बाह्रै महिना यातायात सुचारु हुने गरी सडक सञ्जाल बनाइएको उनको भनाइ छ ।

रातडाँडा, ठुलापोखरा देउराली, श्रृङ्गा पौदी अमराई सडक कालोपत्रे हुने क्रममा रहेको तथा खर्बाङ्गदेखि तल्ला फाँटसम्मको सडक कालोपत्रे हुने क्रममा छ । रुद्रवेणी–वामीटक्सार सडक अहिलेसम्म कालोपत्रे हुन नसकेको भन्दै यसतर्फ संघीय सरकारको ध्यान नगएको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्