श्री स्वस्थानी ब्रत कथा षष्ठोऽध्याय : सतीदेवीदेहत्यागवर्णनं

| २०७८ माघ ९ गते २१: ३६ मा प्रकाशित

श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम : ।।१।।
श्रीमलंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

कुमारजी आज्ञा गर्नु हुन्छ- ‘हे अगस्त्य मुनि! यस्तो किसिमसँग मैले त्रिपुर-दह सुनाएँ, अब के सुन्ने इच्छा छ?’ यस्तो कुरा सुनी अगस्त्य मुनि बिन्ती गर्दछन्- हे कुमारजी! दक्षप्रजापतिका तेत्तीस कोटी कन्या तेत्तीस कोटि देवताले विवाह गरे। सतीदेवीलाई विष्णु भगवानको छलले शिवजीले प्राप्त गर्नुभयो। त्यसपछि सतीको मृत्यु के कारण परेर भयो यस विषयमा सुन्ने इच्छा छ, सुनाई बक्सियोस्। यस्तो आग्रह गरेको सुनी कुमारजी भन्नुहुन्छ- हे मुने! एक दिन दक्षप्रजापतिले यज्ञ गर्ने इच्छा गरेको धेरै समय भयो। अब त्यो यज्ञ गर्ने इच्छा बलवती भयो र सम्पूर्ण सामग्री तयार गरे। अनि महादेव र सतीदेवी बाहेक अरु छोरी-ज्वाईं र ब्रह्मा, विष्णु आदि समस्त देवता, यक्ष, गन्दर्भ, किन्नर, नाग, दैत्य, अप्सरा, दस दिक्पाललाई निमन्त्रणा गर्न पठाऊ भन्ने आफ्ना स्वामीको आज्ञा पाई विरणीले सम्पूर्ण सामग्री तयार पारी महादेव र सतीदेवी बाहेक सबै छोरी ज्वाईं, ब्रह्मा, विष्णु, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सरा दस दिक्पालहरुलाई निमन्त्रणा पठाइन्। दक्षका सबै छोरी-ज्वाईंहरु नाना वस्त्रालंकार पहिरी यज्ञमा होम्न अनेक मणि-माणिक्य, फल-फूल र वस्त्रादि यज्ञमा होम गर्ने सामग्री लिएर दक्षप्रजापतिको यज्ञ हेर्न भनी आए। दक्षले पनि सबै आएका व्यक्तिहरुलाई यथायोग्य सेवा सत्कार गरेर राखे। सुदिनमा यज्ञ आरम्भ भयो। त्यो अश्वमेध कस्तो भने- नन्दी, भृङ्गी, चतु:षष्ठी योगिनी, भूत-प्रेत, पिशाच, प्रमथगण सहित भई श्रीमहादेव बस्दा जस्तो शोभा हुन्छ, त्यसै तेत्तीसकोटि छोरी ज्वाईं र ब्रह्मा, विष्णु आदि देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सराहरु नाना वस्त्र अलंकार पहिरी उभन्दा ऊ राम्री, उभन्दा ऊराम्री भइ नाच-गान गरी मंगलको निमित्त सुवर्णमय कलश सहित अश्वमेध गर्दा शोभायमान देखियो। त्यसरी अश्वमेध चलिरहेको बखतमा नारद मुनिले को आए, को आएनन् भनी आसनबाट उठेर विष्णु प्रभृति सकल देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सरा आदि सबैलाई देखे, तर महादेव र सतीलाई देखेनन्। बिना महादेवको यो दक्ष प्रजापतिको यज्ञ कसरी पूर्ण होला, के कारण हो, निम्ता पठाउन पो बिर्सेका हुन् कि अथवा अरु कुनै कारण छ कि भन्ने मनमा तर्क गर्दै तुरुन्त त्यहाँबाट अन्तर्धान भइ कैलास पर्वतमा गए।
त्यस बेला उता महादेवले सतीदेवीलाई- हे प्रिये! आज हामी दुवैजना जूआ खेलौं, आऊ भन्नुभयो। सतीले ‘हवस्’ भनी पाशा ल्याइन र दुवै जना प्रेम साथ जूआ खेल्न लागे। खेलमा सतीदेवीले जितिन् र स्वामीलाई गिज्याउन लागिन्। अनि शिवजी झोंकिएर झोली थापे, त्यो पनि जितिन्। अनि नागरूपी गहना थापे, त्यो पनि जितिन्। त्यसै वेला दक्षको निम्ता पाएर, देवता, दानव, यक्ष, किन्नरहरु विमानमा बसेर गइरहेका थिए। तिनीहरुलाई देखेर सतीले स्वामीसित- ती विमानमा बसेर जाने को हुन्, आज्ञा हवस्’ भनी सोधिन् र महादेवले- ‘तिमीलाई केको धन्धा पर्‍यो, आफ्नो काम गर’ भन्दा सतीदेवी चिन्तित भएर माथितिर नै हेरिरहिन्। अनि शिवले हाँसेर मुकुट थाप्नु भयो। त्यो पनि जितिन्। त्यसरी निक्कै पल्ट हारेकोले शिवजी केही पनि नभनी हाँसिरहनु भयो। अनि सतीदेवीले बिन्ती गरिन्- ‘हे स्वामी! हजुरका सबै वस्तु मैले जितिसकें, अब के थाप्नु हुन्छ, लौ थाप्नु होस्!’ अनि शिवजीले- ‘अब म मेरो अंग थाप्दछु’ भन्नुभयो। तब सतीदेवीले हात जोरेर विनम्र स्वरमा बिन्ती गरिन्- ‘हे स्वमी! हजुरको अंग अघि पनि पछि पनि मेरै हो। यदि मैले हारें भने हजूरको अंगको साटो कुन कुरा टक्राउँला? यो सम्पूर्ण ब्रह्माण्डमा हजुरको अंगको साटो दिने मेरो विचारमा कुनै वस्तु पनि छैन। फेरि हजुरको अंग जूआ खेली जितेर आफ्नू बनाउनु पर्ने पनि केही आवश्यकता देख्दिन। जुन दिन मेरा पिता-माताले तिल-कुश सहित हजुरको हातमा राखिदिएका थिए, उसै दिनदेखि हजूरको अंग मेरो र मेरो अंग हजुरको भइसक्यो। यसमा शंका छैन र हजुरले आफ्नो अंग दिनु पर्दैन।’ सतीदेवीको त्यस्तो स्नेहयुक्त वचन सुनेर महादेव प्रसन्न भइ- ‘धन्य तिमी’ भनेर जूआ खेल्न छाडी मीठा-मीठा वार्ता गरेर कैलासमा बसेका थिए। त्यसै वेला नारद मुनि पुगेर सती र शिवलाई साष्टांग दण्डवत् गरी हात जोरेर उभिइरहे। श्रीमहादेव कस्ता भने- जटाको मुकुट बनाई बाघको छालाको पटुका कसेका, हात्तीका छाला ओढेर सर्वांगमा भस्म लेपन गरी स्थान-स्थानमा सर्पका गहना लगाई, घाँटीमा नर-मुण्डमाला पहिरी सतीदेवीलाई काखमा लिएर कोटि सूर्य झैं तेजले जाज्वल्यमान भई नन्दी, भृंगी, भूत, प्रेत, डाकिनी-शाकिनी द्वारमा राखेर प्रमथगण सहित भइरहेका महादेवलाई नारदले देखेर हर्ष मानी बारम्बार चरणमा गिरि दण्डवत् गर्दा भए। त्यसरी नारदजीले भक्ति गरेको देखेर मनमा आनन्द मानी श्री महादेवले आज्ञाभयो- ‘हे मुने! तिम्रो भक्ति देखेर म प्रसन्न भएँ, जे इच्छा छ वर माग।’ तब नारदजी केही भन्न नसकी उभिइरहे। तब- ‘के काम परेर यहाँ आयौ, भन’ यति शिवजीले आज्ञा भएको सुनी नारदजी हात जोरेर भन्न लागे- हे शम्भो! म अरु के वर मागौं? हजुरको भक्तिमा मेरो चित्त सदा लागिरहोस्। हे ईश्वर! म आउने कारण के हो भने- दक्षप्रजापतिले अश्वमेध यज्ञ गर्दा तीनै लोकका देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग अष्टवसु, वसिष्ठ आदि ऋषि र ब्रह्मा-विष्णु एवं दस दिक्पाल सहित सबै यज्ञस्थलमा आएका छन् । मैले यज्ञस्थलमा प्रदक्षिणा गरेर हेर्दा केवल हजुर दम्पतीलाई देखिन र यज्ञका मुख्य भोक्ता, कर्ता एवं फलदाता हजुरलाई किन डाकेनन् भनी आश्चर्य लाग्यो र म त्यही कुरा बिन्ती चढाउन आएको हूँ। हे गौरीशंकर! यसको अर्थ केही बुझ्न सकिन भनी नारद मुनिले बिन्ती गरेको सुनी सतीदेवीले आफूलाई अत्यन्त अपमान गरेको ठानी श्रीमहादेवसित बिन्ती गरिन्- हे जगदिश्वर! नारायण प्रभृति तेत्तीसकोटि देवता यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य, अप्सराहरु र मेरा सबै बहिनीहरूलाई डाक्ता हामी दुइ जनालाई मात्र किन डाकेनन्? भन्दै विस्मयका साथ आँखाबाट आँसू बगाइन र मलीन मुख भएकी सतीदेवीलाई शिवजीले आज्ञाभयो- हे प्रिये! तिमी दु:ख नमान किन भने तिमी नरुचाइएकी छोरी, म मननपरेको ज्वाइँ, डाकेनन् त के भयो? यस कुरामा तिमीले आफ्नू अपमान मान्नु पर्दैन, तिम्रो म छँदैछु। दक्षको यज्ञमा गएर पो हामीले के पाउनु छ र नगए पनि के होला। भनी धेरै प्रकारले सम्झाउँदा पनि नमानेर- हे स्वामी! त्यस्तो आज्ञा नहोस्। मलाई त्यो अश्वमेध यज्ञ हेर्ने अत्यन्त इच्छा छ। आज्ञा भए नारदसित गई एक पटक हेरेर मात्र आउने थिएँ। भनेर बहुतै जिद्दी गरी महादेवका चरणमा परिन्। अनि जगदिश्वरले फेरि भन्नुभयो- हे प्रिये, यस्तो हठ नगर। किनकि विशेष गरेर तिमी आफ्नो स्वाभिमानमा रहेकी, त्यहाँ अपमान होला। जाने काम नगर भनी अनेक किसिमले बुझाउँदा पनि नमानी नारदका साथ लागी कैलासबाट प्रस्थान गरिन्। पिताको यज्ञस्थलमा पुगेर आदरसाथ माता-पितालाई ढोग दिई सार्‍है चित्त दुखाई आँखाबाट आँसुका धारा बगाई मंगल वचन बोलिन्- हे माता-पिता! हजुरले गर्न लागेको यस्तो ठूलो यज्ञमा पनि मलाई किन सूचना दिनुभएन? के म हजुरहरूकी छोरी होइन? मैले के अपराध गरें, अथवा मेरा स्वामीले हजुरको के बिराम गरिदिनु भयो, आज्ञा हवस्। विष्णु प्रभृति तेत्तीस कोटि देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग अप्सरा र ऋषि-मुनि एवं दस दिक्पाल स्त्री-पुरुष सहित सबै डाकेर केवल हामी दुइ जनालाई मात्र किन डाक्नु भएन? फेरि यज्ञका कर्ता-धर्ता महादेव नै हुनुहुन्छ। उनी बिना हजुरको यो यज्ञ कसरी पूर्ण होला? यज्ञको फल दिने पनि उहाँ नै होइ-बक्सिन्छ, देवताका देवता पनि शिव नै होइबक्सिन्छ। फेरि सृष्टिकर्ता पनि उहाँ नै होइबक्सिन्छ। महादेव बिना गरेको यज्ञ निष्फल हुन्छ। यज्ञकर्ता नभएको यस्तो अशुद्ध यज्ञ किन आरम्भ गर्नुभयो? यसले हजुरहरूको कदापि जय हुने छैन। श्रीमहादेवलाई तुरुन्त डाक्न पठाउनु होस् अनि मात्र यज्ञको उद्देश्य सफल भई इच्छित फल प्राप्त हुनेछ। हे पिता! शंकरलाई अशंकर गरी थाल्नु भएको यो यज्ञ शंकर नभईकन पनि पुर्ण हुन्छ कि यो ब्रह्माण्डमा दुइ शंकर छन्, यदि छन् भने मलाई आज्ञा हवस्! फेरि मेरो स्वामीलाई नडाकेको कारण के हो? हे माता-पिता! मलाई भन्नु हवस् भनी सतीदेवीले भनेको सुनी दक्षप्रजापति भन्न लागे- ‘हे पुत्री! तँ मनमा दु:ख नमान्। तेरो पति भोलानाथ यो यज्ञमा डाक्ने योग्य छैन किनकि तेत्तीसकोटि देवता, यक्ष, गन्धर्व, नाग आदि अनेक रंग-बिरंगका वस्त्र र मणि-माणिक्यका अनेक अपूर्व गहनाहरुले सज्जित भई, श्रीखण्ड आदि सुगन्धी वस्तु लेपन गरी अनेक थरिका मंगल यात्रा गरी गन्धर्व द्वारा गीत र अप्सराहरुको नाच आदिले शोभित भएको यज्ञमा देख्दै घिनलाग्दो त्यो महादेवलाई कसरी डाक्ने? हे सती! तेरो स्वामी के ढंगको छ?- देहमा खरानी घसी, कम्मरमा बाघको छाला बाँधी, हात्तीको छाला ओढी, विष, भाँग, धतुरो खाई, राता-राता आँखा पारी जस्तो मन लाग्यो उस्तै नाची, सर्पको गहना लगाउने, जटाको मुकुट कस्ने, मुण्डमाला पहिरी, दायाँ हातले डमरू बजाई बायाँ हातले त्रिशूल समाई भूत-प्रेत आदि अघि-पछि लगाई दिगम्बर मतवाला जस्तै जहाँ पायो उहीं पाउ राखी, लाज नमानी हिंड्ने। यस यज्ञमा भने-देवकन्या, नागकन्या, गन्धर्व-कन्या र तेरा सबै बहिनीहरु तथा तेत्तीसकोटि देवताहरुले शोभायमान यस्तो पवित्र यज्ञस्थलमा त्यस्तो देख्तै अशोभा हुने र घिनलाग्दो तेरो स्वामीलाई कसरी डाकूँ, भनी नडाकेको हो। फेरि तँलाई मात्र डाकौं भने उ पनि पछि लागेर आउला भनी तँलाई पनि डाक्न सकिन। तँ दु:ख नमान। फेरि तैंले हाम्रो सेवा पनि गरेकी होस्, अपराध पनि केही गरेकी छैनस्। तेरो स्वामी त्यस्तो गतिको हुनाले नडाकेकोहो। फेरि सृष्टि-स्थिति संहार गर्ने महादेव हुन् र यज्ञको फल दिने पनि उनै हुन् भनिस्। त्यो कुरा होइन, त्यो त बहुलाहा मात्र हो! यज्ञकर्ता श्री नारायण हुन्, सृष्टिकर्ता चतुर्मुख ब्रह्मा हुन्, स्थिती संहार कर्ता नारायण महाविष्णु हुन्। त्यो महादेव कहाँको देवता हो? त्यसलाई नडाकेर मेरो यज्ञ कसरी अपूर्ण होला! तेरो स्वामी महादेवलाई त कसै गरे पनि म डाक्तिन। त्यसले मेरो यज्ञमा के वरदान देला? तेत्तीस कोटि देवता, ब्रह्मा-विष्णु स्वयं उपस्थित छन् भनी दक्षप्रजापतिले जगदीश्वर महादेवलाई क्षुद्र वचनले निन्दा गरेको सुनेर मनले सहन नसकी राता-राता आँखा पारी क्रोधले नाग जस्तै लामो श्वास फेरी सुस्केरा हाल्दै दाह्रा किटी जुरुक्क उठेर भूमिमा लात्तले हानी, स्वामीको निन्दा गरेको सम्झी चित्तले सहन नसकी छातीका मुड्कीले हानी शिव, शिव! भन्दै स्वामीको नाम उच्चारण गरी यज्ञ-कुण्डमा हामफाली प्राण छाड्दी भइन्! अनि हिमालय पर्वतकी स्त्री मेनकाको गर्भमा वास लिन पुगिन्।

इति श्री स्कन्द पुराणे 
केदारखण्डे माघ महात्म्ये
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
सतीदेवीदेहत्यागवर्णनं नाम षष्ठोऽध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय ! जय !
ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

प्रतिक्रिया दिनुहोस्