को बन्ला एमालेबाट कृष्णनगरमा मेयर पदको प्रत्याशी ?

| २०७८ चैत १ गते ००: ४० मा प्रकाशित

शहबाज खान, कपिलवस्तु ।निर्वाचन आयोगले वैशाख ३० गते स्थानीय चुनाव घोषणा गरेसँगै चुनावी चहलपल बढेको छ । स्थानीय चुनावमा भाग लिने उम्मेदवारहरु राजनीतिक, सामाजिक, गतिविधिहरुमा तीव्रता दिएका छन् । ग्रामीण क्षेत्रमा घरदैलों गरि जनता फकाउने काममा व्यस्त देखिन्छन् । तर नेकपा (एमाले)ले स्थानीय चुनावमा भाग लिने उम्मेदवारहरुको नामावली प्रकाशन नगरेको कारणले कृष्णानगर नगरपालिकाको मेयर पदको राजनीतिमा हलचल भएको छ ।

नेकपा(एमाले)बाट मेयर पदको टिकट पाउने आशमा मिर्जÞा राशिद बेग, शिव प्रसाद जयसवाल र कुनाल प्रताप शाहले नेता तथा जनताहरुसँग जनसम्पर्क बढाउँदै जनताबीच आ–आफुलाई प्रबल प्रत्याशी रहेको साबित गर्ने कोसिसमा लागेका स्थानीयले बताउँछन् ।

यही सन्दर्भमा नेकपा एमाले कपिलवस्तु जिल्ला अध्यक्ष डम्बर शर्मासँग कुराकानी गर्दा अहिले नै कृष्णनगरको मेयर पदको टिकट कसले पाउने कुरा एकिन भई नसकेको बताएका छन् । नगर कमिटी, जिल्ला कमिटीको सिफारिसमा प्रदेशले केन्द्रबाट अनुमोदन गराएपछि मात्रै नेकपा एमाले कृष्णनगरको मेयर पदकों उम्मेदवार हुने बताउदै अहिले नै आफुलाई म मेयर पदको प्रत्याशी हुँ भनेर भन्नु पर्ने आवश्यकता नरहेको शर्माले बताए ।

कुनाल प्रताप शाह आधिकारिक रुपमा पार्टी प्रवेश गरेका छैनन् तर आफु पार्टी प्रवेश गर्न चाहेको जानकारी प्राप्त भएको जिल्ला अध्यक्ष शर्माले बताए ।
२०७०÷०७१ सालमा राजपा परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका मिर्जÞा राशिद बेग हालमा राष्ट्रिय युवा संघ नेपाल कृष्णानगरको अध्यक्ष तथा नेकपा एमाले कृष्णानगर कमिटी सचिवालय सदस्य रहेका छन् । मिर्जा राशिद बेग आफ्नै गाउँठाउँमा उद्योग संचालन गरि कृष्णानगर क्षेत्रका बेरोजगार युवा तथा महिलाहरुलाई रोजगारी श्रृजना गरि यस क्षेत्रका गरिब, असहाय जनताको मन जित्न सफल रहेको देखिन्छन् ।

विभिन्न समयमा समाजिक, शिक्षा, स्वास्थ्य तथा रोजगार लगायत अन्य क्षेत्रमा आफु सक्दो सहयोग गर्दै आएका छन् । साथै कृष्णनगरमा नेकपा एमालेलाई बलियों बनाउने पहलमा कृष्णानगर नगरपालिका वड़ा ३ माओवादी केन्द्रबाट जितेका वडा अध्यक्ष, सदस्य तथा उद्योग वाणिज्य संघ कृष्णनगरका पुर्व अध्यक्ष लगायत सयौँको संख्यामा विभिन्न पार्टीमा रहेका व्यक्तिहरुलाई नेकपा एमालेमा प्रवेश गराउन अहम भुमिका निर्वाह गरि रहेका स्थानीयले बताएका छन् ।

२०५४ सालमा एमालेबाट बहादुरगंज साविक गाविस अध्यक्षको चुनाव जितेर राजनीतिमा सक्रिय योगदान दिँदै परिचित रहेका शिव प्रसाद जयसवाल स्थानीय चुनाव २०७४ मा नेकपा माओवादी केन्द्र कृष्णनगर नगरपालिका मेयर पदको उम्मेदवार भई करिब ३ हजार ८० मत ल्याई दोस्रो स्थान हासिल गरेका थिए ।

जयसवालले २०७७ सालमा नेकपा एमाले प्रवेश गरि सक्रिय राजनीति तथा जनताको सुख, दुखमा सहभागी हुँदै पार्टीको हकहितको लागि आफुबाट हुने सहयोग गरिहेको बताएका छन् । जयसवालका समर्थकले मेयर पदको लागि उहाँ नै टिकट पाउने दाबी गर्दै आएका छन् ।

जल्दोबल्दो कृष्णनगरको राजनितिमा प्रवेश गरि नेपाली काँग्रेसमा रही राजनिती गर्दै आएका कुनाल प्रताप शाह नेपाली काँग्रेस परित्याग गरि औपचारिक रुपमा चैत्र १४ गते नेकपा एमाले प्रवेश गर्ने तैयारीमा रहेको शाहले बताएका छन् । मेयर पदका आकांक्षी रहेका शाहले नेकपा एमालेका जिल्लादेखि केन्द्रसम्मका नेताहरुसँग दौडधुप गर्दै सम्पर्क, समन्वय बढाएका छन् ।

कृष्णनगरमा एमालेबाट मेयर पदमा उम्मेदवार बन्ने चर्चापरिचर्चा चलिरहँदा उप–मेयरमा अझैसम्म कसैको नाम बजार आउन सकेको छैन । उप–मेयर कसलाई भोट दिने होला भन्ने एमालेका समर्थक नै दोधारमा परेको सुनिन्छ । सबै मेयर जना मेयरको आकांशी भएपछि उपमेयर को उठ्ने अन्यौलता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्