सत्ता गठबन्धनको सारा शक्ति भरतपुरमा

| २०७९ बैशाख २२ गते २०: ०६ मा प्रकाशित

                                                                  तस्वीर : रासस

चितवन । गएराति परेको पानीले सत्ता गठबन्धनको चुनावी सभा हुने भरतपुरको केन्द्रीय टर्मिनल जलमग्न भयो । बिहीबार विहानसम्मको अवस्था हेर्दा सो स्थानमा कार्यक्रम होला कि नहोला भन्ने शंकै थियो ।

‘विकास हेर्न भरतपुर जाऔं’ भन्ने आह्वानमाथि वैशाख आखिरीको एक रात परेको पानीले नै धावा बोल्यो भनेर विहानैदेखि निकास विनाको भरतपुरको विकासमाथि सामाजिक सञ्जालतिर व्यंग्य सुरु भइसकेको थियो ।

विहान ८ बजेपछि जसै मौसम उघ्रियो र घाम लाग्यो, बुधबारदेखि नै भरतपुर पुगेका सत्ता गठबन्धनका शीर्ष नेताहरु पनि उज्याला भए, गठबन्धनका कार्यकर्ता कार्यक्रमस्थल बनाउन फेरि लागिपरे । उनीहरुले विभिन्न प्रयास गरेर पानी कटाए, ग्राभेल ल्याएर झारे ।

अन्नतः चुनावी सभास्थल तयार भयो, तर झरीकै असरले तोकिएको समयमा कार्यक्रम चाहिँ सुरु भएन । विहान ११ बजे भनिएको सभा दिउँसो पौने दुई बजेमात्रै सुरु भयो । सभालाई सम्बोधन गर्न सत्ता गठबन्धनका सबैजसो ‘हेभिवेट’ नेता चितवन झरेका थिए ।


कतै एकल त कतै संयुक्त सभा गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्ता गठबन्धनले भरतपुरमा भने संयुक्त सभा गरे । सभामा बोल्ने अधिकांश शीर्ष नेताको एउटै कुरामा जोड थियो, गठबन्धनको मत दायाँबायाँ गर्न हुँदैन, गठबन्धनकै पक्षमा पार्नुपर्छ ।

भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रका लागि छाडेको विषयमा चितवनमा कांग्रेसभित्र असन्तुष्टि छ । असन्तुष्टि बागीका रुपमा प्रकट भएको छ र महानगरमा कांग्रेसका पूराना नेता जगन्नाथ पौडेलले मेयर पदमा उम्मेदवारी दिएका छन् ।

भरतपुर महानगरपालिकाको उपमेयर र राष्ट्रियसभाका पूर्वसांसदसमेत भइसकेको पौडेललाई मनाउने प्रयास निकै भएको हो तर उनको अडानका अघिल्तिर गठबन्धनको जोर चलेन ।

बिहीबार विहानसम्म पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बागी उम्मेदवार पौडेललाई आफू बसेको होटलमा नै बोलाएर उम्मेदवारी फिर्ता  लिन आग्रह गरेका थिए । तर जगन्नाथ पौडेल आफ्नै सुरमा घरदैलोमा निस्किए ।

जिन्दगीको उर्जाशील समय कांग्रेसमै बिताएका उनले राजनीतिको उत्तरार्धतिर स्वतन्त्र उम्मेदवार भएर घरदैलो गर्दा गठबन्धनका तर्फबाट मेयरको उम्मेदवारमा दोहोरिएकी माओवादी नेता रेनु दाहालका पक्षमा माहौल बनाउन कस्सिएका कांग्रेस नेताहरुकोसमेत तामझाम सानो रहेन ।

यसअघि बागी उम्मेदवार पौडेललाई साथ दिएका असन्तुष्ट केन्द्रीय सदस्य टेकप्रसाद गुरूङदेखि पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठसम्म रेनु दाहाललाई  मत माग्ने मञ्चमा देखिएनन् मात्रै प्राथमिकता सहितका वक्तासमेत भए । गुरूङ र श्रेष्ठलाई गठबन्धनको पक्षमा ल्याएको सन्देश उनीहरुलाई मञ्चमा राखेर बोल्न दिइएको विषयबाट नै थाहा हुन्छ ।

केन्द्रीय सदस्य गुरूङले गठबन्धन दिगो नहुने र जहिले पनि प्रयोग मात्रै हुने हो कि भनेर आशंका ब्यक्त गरे  । त्यस्तै ‘प्रचण्डका बाउछोरीलाई चितवनबाट लखेट्नुपर्छ’ भन्ने कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले रेनुलाई जिताउन कांग्रेस लाग्ने प्रतिवद्धता ब्यक्त गरे ।

गुरूङ र श्रेष्ठ प्रचण्डसँग गठबन्धनको दिगोपनका विषयलाई लिएर आश्वस्त हुन चाहेको वा प्रचण्डको प्रतिवद्धता खोजेको उनीहरुको भाषाबाट नै प्रष्ट हुन्थ्यो । गुरूङले मन सानो बनाएरै भएर पनि गठबन्धनका पक्षमा बोले । यिनै गुरूङले भरतपुरमा भएको कांग्रेसको चितवन जिल्ला समितिको पदस्थापना कार्यक्रममा भरतपुरको मेयर माओवादीलाई दिए केन्द्रीय सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए ।

केन्द्रीय सदस्य गुरूङलाई मञ्चमा भाषण गर्न दिए पनि अर्का केन्द्रीय सदस्य दिनेश कोइरालालाई भने दिइएन । कोइराला पनि भरतपुर महानगरको मेयर माओवादीलाई दिनहुन्न भन्ने पक्षमा नै छन् । आमसभामा कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालबाट सुरु भएको मन्तव्यको सिलसिला केन्द्रीय सभापति शेरबहादुर देउवासम्म पुगेर टुंगियो ।

सभाको जोड थियो, कुनै हालतमा भरतपुर हार्न हुँदैन, त्यसले राष्ट्रिय राजनीतिलाई नै प्रभाव पार्छ । अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्दा पनि एक्लो एमालेसँग रेनु दाहालले मुश्किलले जितिन् ।

यसपटक राप्रपासँग मिलेको एमाले र सत्ता गठबन्धनको मुख्य घटक कांग्रेसभित्रको असन्तुष्टिले नजितामा प्रभाव पार्ने हो कि भन्ने चिन्ता सभामा देखिन्थ्यो । कांग्रेसभित्रको असन्तुष्टिको पारोलाई कम गराउन देउवा र प्रचण्डले सभामा मेहनत गरेको देखिन्थ्यो ।

दलीय विवाद र पदीय भागवण्डाबाट भर्खरै मात्रै चुनावी अभियानमा जुटेको भरतपुरको सत्ता गठबन्धनले आफ्नो पक्षमा नतिजा पार्न भरमग्दुर प्रयास गरेको छ । सभामा बोल्दै मेयर उम्मेदवार रेनु दाहालले विगतमा आफूले गरेका पाँच बर्षे कामको फेहरिस्त सुनाइन् ।

यद्यपि सभामा जुन उपस्थितको अपेक्षा गठवन्धनले गरेको थियो सो अनुरुप नभएको स्वंय नेताहरुले नै मञ्चबाट बताएका थिए । कांग्रेसका निवर्तमान सभापति जितनारायण श्रेष्ठ र मेयर पदकी उम्मेदवार रेनु दाहालले उपस्थितिमा चित्त बुझाएको देखिएन ।

प्रचण्डको घुर्की, देउवाको आलाप

देशभरका ७५३ स्थानीय तहमा वैशाख ३० गते एकैपटक निर्वाचन हुँदैछ, तर भरतपुरमा मात्रै सत्ता गठबन्धन बढी केन्द्रित र चिन्तित देखिन्छ । प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले आफ्नो भावी सत्ता भरतपुरको जित र हारमा देखेको कुरा उनका अभिव्यक्तिबाट पनि प्रष्ट देखिन्छ ।

देशको प्रधानमन्त्री सारा काम छाडेर आमसभाभन्दा अघिल्लो दिन नै भरतपुर आएर बास बस्नुबाट उनले भरतपुरको विषयलाई कुन रुपमा लिएका छन् भन्ने थाहा हुन्छ । देउवाभन्दा अगाडि चुनावी सभालाई जय नेपाल भन्दै सम्बोधन सुरु गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०४६ सालमा कांग्रेस र कम्युनिष्ट बीच भएको सहकार्यलाई पार्टीको चुनाव चिह्न रुख र हसिँया हथौडा बीच भएको सहकार्यसँग लगेर जोडे । उनले विस्तृत शान्ति सम्झौता गर्दा पनि रुख र हसियाँ हथौडाका बीचमा सहकार्य भएको बताए ।

गएको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी बीच भएको चुनावी तालमेल र आएको नतिजाको विष्लेषण गरेका प्रचण्डले कांग्रेससँगको सहकार्य छाडेर एमालेसँग सहकार्य जानुको अर्थ कांग्रेसले कम्युनिष्टलाई भोट दिन नरुचाएको प्रसङ्ग जोडे ।

उनले चितवनको भरतपुर महानगरपालिकामा नै कांग्रेसले मन खुलाएर मत नदिएको टिप्पणी गर्दै गठबन्धनको निरन्तरताको लागि हो भने, भोट दिन घुमाउरो पाराले दबाव दिए । प्रचण्ड यतिमा मात्रै अडिएनन्, भरतपुरमा रुखले हसियाँ हथौडालाई मत नदिने हो भने देश नै दुर्घटनामा जानेसम्मको चेतावनी दिए ।

कांग्रेसले माओवादीलाई मत दिए, १०-१५-२० बर्षसम्म लाने प्रतिवद्वता प्रचण्डले गरे । हुन त वाम गठबन्धन गर्दा प्रचण्डले अरु ५० वर्ष बामपन्थीलाई कसैले हल्लाउन नसक्ने बताएका थिए । तर उनको त्यो अभिव्यक्ति तीन वर्ष पनि टिकेन ।

सभामा बोल्ने कांग्रेस नेता टेकप्रसाद गुरूङ र निवर्तमान सभापति जितनारायण श्रेष्ठले गठवन्धनको दीगोपनको विषयमा प्रचण्डको धारणा मागेपछि उनले उल्टै कांग्रेसको इमान्दारिताको ग्यारेन्टी खोजे । उनले अगाडि भने, ‘लकिरको फकिर जस्तो हैन, बौद्ध भिक्षु जस्तो घण्टी बजाएर बसिरहने मान्छे हैन प्रचण्ड ।’

प्रचण्डपछि बोलेका कांग्रेस सभापति देउवाले पार्टीको महाधिवेशनको जितलाई समेत लगेर गठवन्धनसँग जोडे । ८२ प्रतिशत मत महाधिवेशनमा गठवन्धनबाटै पाएको देउवाको बताए । उनले प्रचण्डलाई फुर्क्याउँदै भने ‘प्रचण्ड जी सजिलो मान्छे हो ।’

अहिलेको व्यवस्था अनुसार कुनै पनि दलको एकल बहुमत नआउने भन्दै देउवाले गठबन्धन आवश्यक रहेको बताए । पार्टी भित्रको बखेडा विषयमा बोल्दै देउवाले भने, ‘अन्त कहिँ पनि विरोध भएन, तर यहाँ किन विरोध भयो, गठवन्धन टुटाउने षड्यन्त्र भैरहेको छ, त्यसमा लाग्न हुन्न, जिताएर गठबन्धन बलियो हुन्छ । हाम्रो पार्टीले बखेडा गर्न हुन्न । राम्रो काम गरे मौका पाइहाल्नुहुन्छ नि ।’

भरतपुरको मेयर भएर रेनु दाहालले गरेको काम प्रशंसा गर्न देउवाले राम्रै समय खर्चिएका थिए । उनले रेनुले राम्रो काम गरिरहेको उनलाई जिताउनुपर्ने बताए । ‘इन्टरनेशल कन्फ्रेन्स हल बनेको छ, अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनेको छ, यो सानो कुरा हो ? केही पनि बेरुजु नभएको नगरपालिकाको मेयरमा रेनु दाहाल पर्नुभएको छ, कम मेयर होलान् जसको बेरुजु छैन, गल्ली गल्ली पिच भएको छ, काठमाडौंको भन्दा यहाँ जग्गाको भाउ बढ्यो’ देउवाले भने, ‘यस्तो राम्रो काम गर्नेलाई हरायो भने के भन्लान् ? उनले भरतपुरमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल र रेल आउने बताए ।’श्रोत - अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्