मिटरब्याज पीडितहरुलाई उजुरी दर्ता गराउन गृह मन्त्रालयको आह्वान

| २०७९ सावन २८ गते १४: १६ मा प्रकाशित

काठमाण्डौ। गृह मन्त्रालयले मिटरब्याज पीडितहरुलाई उजुरी दर्ता गराउन आह्वान गरेको छ । गृह मन्त्रालयद्वारा गठित कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले शनिबार विज्ञप्ति जारी गरी भदौ ५ गते भित्र पीडितहरुलाई आआफ्नो जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन आह्वान गरेका हुन् ।

सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि शुक्रबार कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन् ।

कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ। कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । काठमाडौंको माइतीघरमा नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट संगठित भएका मिटरब्याजी पीडितहरु धर्नामा छन् ।

गृह मन्त्रालयले मिटरब्याज पीडितहरुलाई उजुरी दर्ता गराउन आह्वान 

प्रतिक्रिया दिनुहोस्