दोस्रो ड्रिजल कप क्रिकेट प्रतियोगिता हुने, विजेताले १४ हजार ५०० रुपैयाँ पाउने

| २०७९ भदौ ९ गते १६: ५७ मा प्रकाशित

काठमाडौं।नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा १० भदाैदेखि शिक्षान्तर स्कुल दोस्रो इपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका १५ भन्दा बढी विद्यालयहरूले सहभागिता जनाउने आयोजकले जनाएकाे छ ।

प्रतियोगितामा कक्षा १० सम्मका छात्रहरुले सहभागिता जनाउन पाउने छन् । स्कुल क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचान गर्न प्रतियोगिता आयोजना गर्न लागिएका आयोजक नेपाल क्रिकेट इन्स्टिच्युटले जनाएको छ ।

प्रतियोगिताको पहिलो संस्करण २०७६ मा भएको थियो । कोरोना महामारीको कारण प्रतियोगिताको दोस्रो संस्करण आयोजनामा ढिलो भएको थियो । प्रतियोगिताका सबै खेलहरू मिनभवनस्थित इपीएस स्कुलमा आयोजना हुनेछ ।  

प्रतियोगिताको उपाधि विजेताले १४ हजार ५०० र उपविजेताले ८ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ३ हजार ५००, उत्कृष्ट बलर र ब्याटसम्यानले समान २ हजार १०० प्राप्त गर्नेछन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई ५०० प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्