विप्लवका नेता–कार्यकर्ताविरुद्धको मुद्दा खारेज गर्ने सरकारको निर्णय

| २०७९ भदौ ३० गते १८: ३४ मा प्रकाशित

सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले गरेको मुद्दा खारेजको निर्णयलाई पार्टीले स्वागत गरेको प्रवक्ता प्रकाण्डले जनाएका छन् । 

उनले सो निर्णय तत्कालीन केपी ओली नेतृत्वको सरकार र आफ्नो पार्टीबीच भएको सहमति अनुसार भएको समेत जनाएका छन् ।नेपाल कम्युनिस्ट पार्टी र केपी ओली नेतृत्वको सरकार बीच २०७७ फागुन २१ गते तीन बुँदे सहमति भएको थियो । 

आफ्नो माग पुरा भएकोमा प्रकाण्डले विज्ञप्तिमार्फत देउवा सरकारको यो निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री वालकृष्ण खाँण, कानुन मन्त्री गोविन्द बन्दी कोइराला र महान्यायाधिवक्ता खम्म बहादुर खाती लगायत वार्ता प्रक्रियामा सहभागी सबैलाई पार्टी धन्यवाद ज्ञापन गर्दै तीन बुँदे सहमतिमा उल्लेखित नेपाल कम्युनिस्ट पार्टीको दायित्वप्रति पार्टी इमानदार, प्रतिबद्ध रहेको र सहमतिको मर्मलाई अक्षरशः कार्यान्वयन गर्न दृढ भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्