अर्घाखाँची बाट काङ्ग्रेस नेतृ भुसाल हार्नुको कारण यस्तो छ

| २०७९ मंसिर ९ गते १८: १८ मा प्रकाशित

मुक्तिनाथ भुसाल,अर्घाखाँची।एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको अर्घाखाँची देशभर सर्वाधिक मतदाता रहेको प्रतिनिधिसभातर्फ दोस्रो निर्वाचन क्षेत्र हो । यहाँ महिला र पुरुष गरी कुल १ लाख ६४ हजार ७६८ मतदाता रहेकामा मंसिर ४ गते सम्पन्न निर्वाचनमा करिव ५४ प्रतिशतले मात्रै मतदान गरे । मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भटराई, प्रजिअ शशिधर घिमिरे, प्रहरी नायव उपरिक्षक मुकुन्द रिजाल र जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीलगायतको टिमले कुशलतापूर्वक मतदान व्यवस्थापन कार्य सम्पन्न गरे भने चुनावी परिणामसमेत सार्वजनिक भइसकेको छ । प्राप्त परिणामअनुसार पुरानै अनुहारहरू दोहोरिएका छन् ।

प्रतिनिधिसभातर्फ ११ जना उम्मेदवार चुनावी मैदानमा होमिएका भएपनि नेकपा एमाले र पाँचदलीय गठवन्धनका बीचमा मुख्य प्रतिस्पर्धा रहेको थियो । मतपरिणामअनुसार नेपाली काङ्ग्रेसकी पुष्पा भुसाललाई नेकपा एमालेका टोपवहादुर रायमाझीले एक हजार सात सय तिस मतान्तरले पछाडि पारी विजयी भएका छन् । माओवादी केन्द्र परित्याग गरी एमालेको केन्द्रिय सचिव रहेका रायमाझी उपप्रधानमन्त्री र पटक–पटक मन्त्री हुनुको अलवा यसअघिका निर्वाचनहरू समेत जिल्लावाट जित्दै आएका छन् ।

नेपाली काङ्ग्रेसले देशभरबाट उठाएका पाँच जना महिलामध्ये एक महिलानेतृ पुष्पा भुसाल यसअघिको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट प्रतिनिधिसभाको समानुपातिक सदस्य रहेकी थिइन् । उनी संसद्को कार्यकाल सकिनै लाग्दा उपसभामुख पदमा निर्वाचित भएकी हुन् । यसपालिको निर्वाचनमा संयुक्त लोकतान्त्रिक गठवन्धनको तर्फवाट साझा उम्मेदवार भुसालले पराजय भोग्नुका पछाडिका अनेक कारणमध्ये पहिलो कारण भनेको गठवन्धन कतै इमान्दार भएन कि भन्ने चर्चा सुनिएको छ । विशेषगरी गठबन्धनले आफ्ना तरल मतहरूलाई जोगाउने तर्फ आवश्यक भूमिका निर्वाह गर्न नसक्दा सुनौलो अवसर गुम्न पुगेको आँकलन चियागफमा सुनिन्छ ।

यसैप्रकार पुष्पा भुसालले चुनाव हार्नुको दोस्रो कारण भनेको नेपाली काङ्ग्रेसको कमजोर संगठन हो । आफूले संगठन नगर्ने र अरुले गरिदिएको संगठनमा स्वाद लिँदै राजनैतिक लाभका पदहरू ओगट्ने काङ्ग्रेसी नेताहरूको अर्घाखाँची जिल्लामा कमी देखिँदैन । जम्मा ६१ वटा वडा रहेको अर्घाखाँचीमा स्वयम् पुष्पा भुसालको कर्मघर तथा पूर्व राज्यमन्त्रीसमेत रहेका नेता रेवतीप्रसाद भुसालको जन्मस्थान सन्धिखर्क नगरपालिका वडा नंम्वर ९ मा नेकपा एमालेको वर्चस्व रहेको छ । पुष्पा भुसालको जन्मस्थान पाणिनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसमेत नेकपा एमालेले विजय प्राप्त गरिसकेको छ । नेपाली काङ्ग्रेसका पूर्व केन्द्रिय सदस्य तथा पटक–पटक समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका एवम् पूर्व विज्ञान तथा प्रविधिमन्त्री मानवहादुर विश्वकर्मा र नेपाली काङ्ग्रेसका पूर्व पार्टी सभापति कमलप्रसाद भुसालको जन्मस्थान सन्धिखर्क नगरपालिका–२ समेत नेकपा एमालेको बलियो संगठन भएको वडा हो । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष तथा आमन्त्रित केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य पदका लागि समानुपातिक उम्मेदवार बालकृष्ण पान्डे र नेता डा. मुक्ति श्रेष्ठको जन्मस्थान छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा पनि नेकपा एमालेको बाहुल्यता रहेको छ ।

नेपाली काङ्ग्रेसका लुम्विनी प्रदेश सहमहामन्त्री तथा पूर्व पार्टीसभापति बिष्णुप्रसाद खनाल ‘मुस्कान’सहित नेपाली काङ्ग्रेसका जिल्लासचिव कृष्णप्रसाद खनालको जन्मस्थान मालारानी गाउँपालिका वडा नम्वर ४ मा पनि नेकपा एमालेको वर्चस्व रहेको छ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी पूर्वसचेतक तथा महिलानेतृ निर्मला क्षेत्री र नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्ष बिष्णु क्षेत्रीको जन्मस्थान भनिने मालारानी गाउँपालिका वडा नम्बर ५ पनि नेकपा एमालेको पकड रहेको वडा हो । यसैप्रकार नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशनवाट जिल्लासभापति बनेका केशव श्रेष्ठको जन्मस्थान छत्रदेव गाउँपालिका वडा नम्बर ८ दुई जना उपसभापतिसहित एक नम्बर क्षेत्रका क्षेत्रीय सभापतिको जन्मस्थान छत्रदेव गाउँपालिकाको वडा नम्बर २ र ३ लगायतका नेताहरूको वडामा नेपाली काङ्ग्रेसको संगठन कमजोर रहेको छ । आफनै जन्मवडामा आफूसम्वद्ध पार्टीलाई विजयी बनाउन नसक्ने धेरै नेताहरुको अगाडिपछाडि लाग्नुपर्ने र यिनीहरूलाई बोकेर मत दिनुहोस् भन्दै हिँड्नुपर्ने बाध्यता संगठन गरेका काङ्ग्रेसीहरूलाई एउटा आदत नै बनेको छ ।

पुष्पा भुसालले चुनाव हार्नुको तेस्रो कारण भनेको आर्थिक अपारदर्शिता र चुनावी मेकानिज्म फिट नगरिनुलाई समेत लिन सकिन्छ । सम्पन्न निर्वाचनमा दुवै पक्षका उम्मेदवारहरूले गक्षअनुसारको रकम खर्च गरेका भएपनि भुसाललाई सफलता मिल्न सकेन । रायमाझीको खर्च तरल मतमा भन्दा पनि जिम्मेवार मानिने गठवन्धनका टाउकाहरूका लागि भएको हुनसक्ने अनुमान गर्दैगर्दा उहाँबाट गरिएको खर्चमध्ये करिव ६५ प्रतिशत रकम पुग्नुपर्ने ठाउँमा नपुगी गठबन्धनकै मध्यम तहका नेताहरूको वरिपरि सीमित रहेको चर्चा छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिमातहतका सबै निकायहरूलाई उचित जिम्मेवारीसहित चलायमान नगराउनुका साथै नेतृ पुष्पालाई स्थानीय चुनावको अंकगणितमा अल्मलाउनुले यसपालिको सुनौलो अवसर गुमेको हो ।

अदृष्य ढंगबाट गरिएका घातका घटना तथ्यगत रूपले सार्वजनिक हुनका लागि वडापिच्छेका अलग–अलग मतपेटिका गणना गर्नुपर्दथ्यो, तर त्यसो नगरिएकोले एकले अर्कोलाई दोषारोपण गर्न यतिवेला सजिलो परेको छ । मतगणना गर्ने समय मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले वडावाइज मत गन्नका लागि बाक्साहरू मिलाउन झन्झट हुने र निर्वाचन आयोगको नियममा पनि नभएको भन्दै दुई–तीनवटा केन्द्रका मतपेटिकाहरू मिसाएर परिणाम सार्वजनिक गरिदिएको कारण धेरैलाई पानीमाथि ओभानो बन्न सहज बनेको छ ।

यसैप्रकार दुई वटा प्रदेशसभा सदस्य पदका लागि १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेपनि ‘क’तर्फ राष्ट्रिय जनमोर्चाका सागर केसीलाई हराउँदै नेकपा एमालेका केन्द्रिय सदस्य चेतनारायण आचार्य विजयी भएका छन् । प्रदेश ‘ख’तर्फ नेपाली काङ्ग्रेसका पूर्व पार्टीसभापति कमलप्रसाद भुसाललाई नेकपा एमालेका पूर्व पार्टीअध्यक्ष रामजीप्रसाद घिमिरेले पराजय गरेका छन् । प्रदेश ‘ख’को चुनावी क्षेत्रमा पर्ने सन्धिखर्क नगरपालिका र पाणिनी गाउँपालिकाबाट भुसाललाई सन्तोषजनक मत प्राप्त भएको भएपनि भुमिकास्थान र शितगंगा नगरपालिकाबाट अपेक्षाकृत मत प्राप्त हुन नसक्दा ८०६ मतले पराजित हुनु परेको हो ।

अर्घाखाँचीमा जोसुकैले विजयको माला पहिरिएपनि जिल्लाका समस्याहरू जहाँको त्यहीँ रहेका छन् । निर्माणाधीन अर्घा विमानस्थलले पूर्णता पाउन नसक्नुको अलवा विशेषज्ञ सेवा–सुविधासहित जिल्लाअस्पतालको स्तरोउन्नति हुन नसक्दा थोरै दु:खविमार परेपनि बुटवल वा काठमाडौं जानुपर्ने बाध्यता कायम नै छ । करिव १८ वर्षदेखि दुहुनो गाई बनाइएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक सम्पन्न हुन अझै दश वर्ष लाग्ने आँकलन गरिएको छ । सदरमुकामको फुदवाङदेखि बलेवाङ बीचका धेरैजसो खेतहरू पक्की कुलोको अभावमा उव्जनीभन्दा खर्च धेरै हुन गई स्थानीयहरू मर्कामा छन् । धुले र हिलेयाम गोरुसिङे–सन्धिखर्क सडकको यात्रा गर्दा परिवारमा हिसाबकिताब बुझाएर हिँड्नुपर्ने लगायतका समस्याहरू स्थानीय सबैले अनुभूति गरेकै विषय हो ।स्रोत - घटना बिचार अनलाइन 

प्रतिक्रिया दिनुहोस्