भएभरका सबैले सरकारलाई समर्थन दिनु डरलाग्दो : चित्रबहादुर केसी

| २०७९ पौष २६ गते १६: ५७ मा प्रकाशित

 काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षी दलले पनि सरकारलाई समर्थन गरेको डरलाग्दो दृश्य नेपालमा देखिएको बताएका छन् ।

नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रति कटाक्ष गर्दै उनले नेपालमा विचित्रको दृश्य देखिएको बताएका हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘संसदीय ब्यवस्थामा प्रतिपक्ष हुन्छ, मैले जानेको संसदीय व्यवस्था त त्यस्तो हो, नेपालमा त आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने, यहाँ भन्दा हाइसञ्चो सत्तापक्षमा बस्नलाई के हुन्छ ?’

अध्यक्ष केसीले संसदमा शक्तिशाली प्रतिपक्ष भएन भने सरकार निरंशुक हुने पनि बताए । कांग्रेसले दिएको समर्थनभित्र कुनै अदृश्य खेल हुन सक्ने पनि उनले आशंका गरेका छन् ।

‘बलियो शक्तिशाली प्रतिपक्ष भएन भने त्यो सरकार निरंकुश हुन्छ, त्यसले जे मन लाग्यो उही गर्छ । सबै साथीहरुलाई सरकारमा सामेल भएर विगतमा भएका आफ्नो गल्ती कमजोरी ढाक्ने, त्यहीँ भित्र लडामती गरेर एउटालाई पन्छाउने अर्को फेरि सरकारमा आउने ताल त होइन यो ?’ उनले भने ।

सरकारलाई समर्थन दिएको दलले समर्थन फिर्ता लिँदा पनि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाको स्मरण गदै उनले कांग्रेसले अहिले समर्थन दिएर पछि सरकारलाई अप्ठेरो पार्ने रणनीति हुन सक्ने आशंका गरे ।

‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न त पाइदैन संसदमा तर दिएको समर्थन थुत्न त संविधान ले छेक्दैन नि’ अध्यक्ष केसीले प्रश्न गरे, ‘त्यस्तो बेला सरकारको हालत के हुन्छ ? त्यही खेलभित्र यो (समर्थन) त होइन कतै ?’

त्यही खेल हुने आशंकाले पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र केपी शर्मा ओलीको जुहारी परेको पनि अध्यक्ष केसीले बताए ।

चुनावमा भएको खर्च उठाउन पनि दलहरु सरकारमा जान लालयित भएको हुन सक्ने उनले बताए । ‘बोरामा पैसा लिएर चुनाव जितेर आएकाले सरकारमा नगई, देशको प्राकृतिक साधन स्रोत दोहन नगरी चुनावमा उडाएको खर्च उठ्छ ?’ उनले भने, ‘त्यही डरले र विगतमा भएका कमी कमजोरीबाट बच्न पनि सबै एक ठाउँमा भएका त होइन ?’

केसीले आफूहरु भने एक्लै भए पनि प्रतिपक्षमा बस्ने बताए ।अनलाइन खबर बाट  साभार 

प्रतिक्रिया दिनुहोस्