गुल्मीमा आफ्नै घरमा महिलाको शव भेटियो

| २०७९ माघ १५ गते १६: २२ मा प्रकाशित

गुल्मी।गुल्मीको मुसिकोट नगरपालिका–७ वामीकी एक महिलाको उनकै घरमा शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीबाट गएको टोलीले ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको घरलाई शिलबन्दी गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले तालिम प्राप्त कुकुर ल्याएर मात्र अनुसन्धान अगाडि बढाउने बताए ।

शेरचन सोही घरमा एक्लै बस्दै आएकी थिइन् । घटनाको दृश्य हेर्दा हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । उनको घरको चेनगेट बन्द अवस्थामा छ । तालिम प्राप्त कुकुर नल्याएसम्म गेट नखोलिने प्रहरी प्रमुख रानाभाटले जानकारी दिए ।

शेरचन आज बिहान घरबाट बाहिर ननिस्किएपछि छिमेकीले सोधखोज गर्दा उनको शव हात र खुट्टा टेपले बाँधेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शेरचनले विगत ४० वर्षदेखि गंगा होटल सञ्चालन गर्दै आएकी थिइन् । उनको शव चेनगेट नजिकै रहेको छिमेकीले बताएका छन् ।

गंगादेवीकी आफन्त सुनील शेरचेनले घटना संकास्पद भएकाले बिशेष अनुसन्धान कुकुरमार्फत गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्