अर्घाखाँचीमा मलाई ‘बहिष्कार’ गर्नेहरूलाई चुनौती दिएँ ,दर्शकलाई भव्य मनोरंजन दिएर फर्किएँ : गायिका ज्योति मगर

| २०७९ माघ २६ गते १९: ३३ मा प्रकाशित

कुवेर गिरी,काठमाडौँ । गायिका ज्योति मगर यतिबेला फेरि चर्चामा छिन् । चर्चाको बिषय हो, अर्घाखाँची महोत्सवमा उनलाई बहिष्कार प्रसंग । उक्त जिल्लाका  संगीतसम्बद्ध १० संघसंस्थाले महोत्सवमा उनलाई बहिष्कार गरेका थिए । त्यसको बाबजुद पनि उनले महोत्सवमा पुगेर आफ्नो प्रस्तुति दिएकी छन् । 

बहिष्कार गर्ने सबै संघसंस्थालाई आफूले ‘बहिष्कार’ गर्ने भन्दै ज्योतिले हिम्मत भए रोकेर देखाउन चुनौती दिदै महोत्सवमा कार्यक्रम गरेकी छिन् । करिब डेढ घन्टा दर्शक नचाएकी ज्योतिको प्रस्तुतिमा त्यस्तो कुनै अप्रिय घटना भने घटेन । एकपछि अर्काे गर्दै उनले दर्शकलाई आफ्ना नयाँ तथा पुराना गीत पस्किएर भरपुर मनोरञ्जन दिलाइन् । 

मेलामहोत्सवमा ज्योतिले राख्ने प्रस्तुतिमा सधँ प्रश्न उठ्दै आएको छ । बहिष्कारको परिस्थिति र महोत्सवमा दिने उनको प्रस्तुतिको विषयमा केन्द्रीत रही गायिका ज्योति मगरसँग रातोपाटी संवाददाताबाट गरिएको छोटो कुराकानी ः

बहिष्कारका बाबजुद पनि अर्घाखाँची महोत्सवमा प्रस्तुति दिन किन जानुभयो ?

 महोत्सवका लागि आयोजकले बोलाएका थिए । दर्शक मेरो प्रतिक्षामा थिए । त्यसैले, बोलाएको ठाउँमा त जानै पर्यो  ।

त्यहाँ कुनै अप्रिय घटना त भएन नि ?

त्यस्तो केही भएन । मेरो प्रस्तुति एकदमै बवाल भयो । दर्शकसँगै नाच्दै र गाउँदै रमाए ।

अर्घाखाँची महोत्सवमा बहिष्कारको कुरो किन आयो ?

केही मानिसको म प्रतिको डाहा हो, जसले मलाई अर्घाखाँची महोत्सवमा बहिष्कार गरेका थिए । तर खासमा मेलामा मसँग फोटो खिच्न अगाडि सर्ने तिनै थिए । दर्शकसँग भीडभाड गरेर फोटो खिचाए । अहिले पनि कतिपय मानिस युवापुस्ताको चाहना र ईच्छा नबुझ्ने रहेछन् । रुढिवादी सोचबाट विक्षिप्तहरुको मेन्टल समस्याले महोत्सवमा मेरो बहिष्कारको कुरो आएको हो ।

म केही बोल्दिन, विवादमा फँस्दिन भनेर आफ्नो काम खुरुखुरु गर्थें तर हँुदो रहेनछ । पब्लिकले स्वीकारेको, पचाएको कुरो फेरि विवादमा ल्याउन हुँदैन भनेर म चुपचाप बस्ने गरेकी छु । जुनै कार्यक्रममा जाँदा पनि मेरो प्रस्तुतिमा भीडभाड हुन्छ । विरोधीको जवाफ त्यही हो भनेर सोच्छु । तर, चुप लागेर नहुने रहेछ । दिलमा भित्रैदेखि चोट लागेपछि अलि अलि भन्नु जरुरी ठानेर विरोधीलाई चुनौती दिएकी हुँ । चुप लागेर बस्दा हेप्दा रहेछन् ।

रिस गर्नेहरुले नै तपाईंसँग तस्विर खिचाए भन्नु भयो । बहिष्कारको भित्री अन्तर्कथा के हो जस्तो लाग्छ त ?

 पहिलो कारण मेरो रिस, डाहा गर्ने धेरै छन् । अर्घाखाँची महोत्सवमा बहिष्कारको कारण म होइन । त्यहाँ मलाई मोहोरा बनाइएको हो । अर्काे कुरो महोत्सव आयोजकले मलाई बहिष्कार गरेका होइनन् । आयोजकसँग कार्यक्रममा सहभागीको पैसाको कुरो मिलेन । मलाई बहिष्कार गर्यो भने आयोजक डराउँछ र महोत्सव भाँडिन्छ भनेर बहिष्कार गरेका हुन् । 

त्यस्तै, महोत्सव आयोजक केही पार्टीका कार्यकर्ता पनि रहेछन् । एकले गरेको क्रियाकलाप अर्काे पार्टीलाई चित्त नबुझेका कारण त्यो आवाज बाहिर आएको रहेछ । यदि मलाई साँच्चिकै बहिष्कार गरेको भए कार्यक्रममा प्रस्तुति दिन किन दिइयो त ? 

तपाईंको प्रस्तुतिले संस्कृति बिगार्यो भन्छन् नि ?

 कला, संस्कृतिको कुरा गर्ने हो भने महोत्सवमा अचेल हिन्दी गीत गाउँछन् । त्यही गीतमा नृत्य देखाइन्छ । ती विदेशी गीतले कला, संस्कृति जोगिने, मेरो नेपाली गीतको प्रस्तुतिले बिग्रिने हो र ?  मेरो प्रस्तुति पब्लिकले रुचाएका छन् । नराम्रो भए पब्लिकले विरोध गर्नुपर्ने हो । अहिलेसम्म मेरो विरोध गर्ने त हाम्रै फिल्डका ब्यक्ति हुन् । उनीहरु म ब्यस्त भएको, मेरो प्रस्तुतिमा दर्शक रमाएको र मेरो सफलताले जलेका हुन् ।

तपाईंले छाडापन भित्र्याएको आरोप त पहिलेदेखि नै लाग्दै आएको हो नि ?

म पहिलेदेखि नै विभिन्न कन्ट्रोभर्सीमा फँस्दै आएँ । गीत संगीतको सुरुवाती दिन मेरो राम्रो भएन । त्यो समय लोकदोहोरी गाउँदा स्कट लगाउने म मात्र थिएँ । त्यो सत्य हो तर मेरो नजरमा त्यो परिवर्तन हो । लोकदोहोरी गाउँदा चोली फरिया लगाउनै पर्छ भन्ने छैन । मैले ल्याउन खोजेको परिवर्तन पहिलेदेखि नै रोक्न खोजियो, मलाई नराम्रो भनियो । 

अहिले पनि मेरो प्रस्तुति हेर्नेले बाहिर हल्ला गरेजस्तो ज्योति होइन रहेछ भन्न थालेका छन् । अहिले ९५ प्रतिशतले मेरो प्रस्तुति राम्रो छ, ठिक छ भन्छन् । युवादेखि बालबालिका र बृद्धासम्म मसँग रमाउँछन् । तर केही ब्यक्तिका सोच कहिल्यै परिवर्तन गर्न नसकिने रहेछ । 

आपफूले दिने प्रस्तुति सही र समयको माग भन्न खोज्नु भएको हो ?

 मेरो प्रस्तुति र मेरो ड्रेसले म कम्फर्टेवल फिल गर्छु । मलाई कहिलै असहज महसुस भएन । मेरा कतिपय प्रस्तुति लाइभ समेत हुने गरेका छन् । मलाई अलिकति हट, एनर्जेटिभ हुन मनपर्छ । आफूले खुलेर प्रस्तुति दिन सकियो र आफ्नो प्रस्तुतिमा आफू रमाउन सकियो भने मात्र दर्शक श्रोताले रमाउँछन् । त्यसैले त्यो आवश्यक हो, होइन भन्ने कुरो रहेन । अहिलेसम्म मैले कन्ट्रोभर्सी होला भन्ने हिसावले कहिल्यै क्रियाकलाप गरेकी छैन । 

स्वर भन्दा प्रस्तुतिकै कारण पनि मेला, महोत्सवमा तपाईंको माग भएको भनिन्छ त ?

मेला, महोत्सव मानिसले जहिले पनि ब्यावसायिक पाटोबाट हेर्छ । को कलाकार आउँदा राम्रो हुन्छ भन्ने हिसावले हेरिन्छ । मेरो पफर्मेन्समा मानिसको भीड लाग्छ । त्यही कारणले मैले अहिले काम पाइरहेको हो ।

बहिष्कार लगायतका कुरो आउँदा करियरमा धक्का पर्छ कि ?

 केही हदसम्म असर त पर्छ । म पनि मानिस हो, रिस उठ्छ, मानसिक तनाव हुन्छ । तर विवादका कुरा खासै बाल लाग्दैन । मेरो कार्यक्रम हेर्ने र चिन्नेहरुलाई ज्योति यस्तो भन्ने थाहा छ । मलाई नभेटेकाले गलत धारणा बनाउन सक्छन् । 
त्यो संघर्षको पिरियडमा कन्ट्रोभर्सी हुँदा, मानिसका भीडले लखेट्दा त लडेर आएँ ।

अहिले केही ब्यक्तिले गरेको टिप्प्णीले खासै असर पर्दैन । जुन ठाउँबाट टीकाटिप्पणी हुन्छ, त्यो ठाउँमा गएर प्रस्तुति दिन डबल मज्जा हुन्छ । जुन कुरा अर्घाखाँचीमा भयो । अर्घाखाँची महोत्सवमा मेरो प्रस्तुति अगाडिका दिन बेलुका ४/५ बजे नै दर्शक लाखापाखा लाग्थे रे । मेरो प्रस्तुतिको दिन राती अबेरसम्म दर्शक थिए । मैले डेढ घन्टा दर्शक नचाएँ । यो कुरोले मलाई एकदमै एनर्जी दियो । 

अहिले मेला, महोत्सव राम्रो चलेको छ ?

 कोरोनामा बन्द मेला, महोत्सव अहिले लयमा फर्किदै छ । मेला, महोत्सव धमाधम भइरहेको छ । म मात्र होइन, अहिले धेरै कलाकार ब्यस्त छन् । 

तपाईंको नयाँ गीत अब कहिले आउँछ ?

 एक महिना पहिले मेरो ‘कान्छी मुसुक्क पैसा भुसुक्क’ बोलको गीत आएको थियो । अहिले फेरि अर्काे गीतको तयारीमा छु । गीत लेख्ने, संगीत गर्ने, गाउने सबै म आफै गर्छु । दर्शक श्रोतालाई छिट्टै नयाँ गीत दिन्छु ।

स्रोत - रातो पाटि www.ratopati.com

 

प्रतिक्रिया दिनुहोस्