किर्ते मुद्दामा पूर्वसांसद खातुन कारागार चलान

| २०८० बैशाख १५ गते १८: २५ मा प्रकाशित

विराटनगर । सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुन कैद भुक्तानका लागि कारागार चलान भएकी छन् । जिल्ला अदालत मोरङमा शुक्रबार हाजिर भएकी उनलाई अदालतले मोरङ कारागार चलान गरेको हो ।

‘सरकारी सहीछाप र दस्तखत किर्त’ मुद्दामा जिल्ला अदालत मोरङले उनलाई एक वर्ष कैदको फैसला गरेको थियो । जिल्लाको कैदको फैसलालाई उच्च अदालत विराटनगरले पनि सदर गरेको थियो ।

उच्च अदालत विराटनगरको फैसला विरुद्ध खातुनले सर्वोच्च अदालतमा सुनुवाइका लागि निवेदन दायर गरेकी थिइन् । सर्वोच्चमा ‘इन्साफ दोहोर्‍याई पाउँ’ (दोप) भन्दै दायर गरेको निवेदनमा २०७९ जेठ २५ गते सर्वोच्चले निस्सा नदिने आदेश दिएको थियो । सोही मुद्दाका प्रतिवादी विजय कामतलाई भने सर्वोच्च अदालतले सुनुवाइका लागि निस्सा दिएको थियो ।

सर्वोच्चबाट निस्सा नपाएपछि पुन सुनुवाइका लागि निवेदन दिएर जिल्ला अदालतमा उपस्थित भएकी खातुनले कारागारमै बसेर न्यायका लागि लड्ने बताइन् ।

‘कानुन हामीले बनाएको हो, मैले नै कानुनको अपमान गर्न मिलेन,’ उनले भनिन्,‘ कानुनको इज्जत गरेर आफै अदालतमा उपस्थित भएकी छु, कानुनभित्र बसेर न्याय,अन्यायको फैसला गरिदिनु ।’

शुक्रबार जिल्ला अदालत मोरङका उपस्थित भएकी खातुनलाई कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५  मा एक वर्षसम्म कैद सजाय तोकिएका मानिसले दिनको ३०० रुपैयाँ शुल्क तिरेर  बाहिर बसेर कैद भुक्तान गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार निवेदन लिएर खातुन अदालतमा हाजिर भएकी थिइन् । अदालतले उनको निवेदनको सुनुवाइ अर्काे साता गर्ने जनाएको छ ।

मोहीको जग्गाका लागि लिएको सिफारिसमा तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरीछापा किर्ते गरेको आरोप लागेको थियो ।

सरकारी सहिछाप किर्ते मुद्दामा २०७४ बैशाख ३१ गते तत्कालीन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई जिल्ला अदालतले एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो । तत्कालीन गाविसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारण थप दुई वर्ष सजायको फैसला भएको थियो ।

जिल्लाको फैसला विरुद्ध उनी २०७४ भदौमा उच्च अदालत विराटनगर गएकी थिइन् । उच्च अदालत विराटनगरले २०७४ पुस ९ गते खातुनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

उच्च अदालतले उनका श्रीमान शेख सिलबरलाई सफाई दिएको थियो । खातुन, कामत र मण्डलको हकमा सजाय हुने जिल्लाको आदेश सदर गर्दै जनही १४ हजार ५ सय ८३ जरिवाना हुने फैसला गरेको थियो ।

उच्चको फैसला विरुद्ध खातुनले २०७६ फागुन ११ गते सर्वोच्चमा निवेदन दिएकी थिइन् । सर्वोच्चले सुनुवाइका लागि निस्सा नदिएपछि उनले अब ११ महिना ५ दिन कैद बस्नुपर्नेछ ।

साबिक कदमाह गाउँ विकास समिति २ (हाल कटहरी –९) मा मधुसुधनराज पाण्डेको तीन बिगाह १० कट्ठा जग्गामा खातुनका ससुरा शेख धाइका मियाँको मोही हक थियो ।

एमालेको पूर्व समानुपातिक प्रदेश सांसद खातुनले तीन विगाह १० कट्ठा मोही जग्गा पाउनका लागि २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस ल्याएकी थिइन् । एउटै दर्ता नम्बरका दुई वटा सिफारिस  लिएका कारण किर्ते मुद्दा परेको थियो । उनी निरक्षर हुन् ।स्रोत - अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्