अर्घाखाँचीकी निराको पसलमा ग्राहक बनेर छिरेका थिए विनाेद, सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि हत्या

| २०८० बैशाख १७ गते १४: ०० मा प्रकाशित

काठमाडाैंकाे कपनकी निरा आचार्यको उनकै पसलमा लुटपाट गर्न पुगेका झापाका विनोद विकसँग प्रतिकार गर्ने क्रममा हत्या भएकाे खुलेको छ । पक्राउ परेका विनोदले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा निराले लगाएको सुनको सिक्री लुट्न खोज्दा प्रतिकार गर्न खोजेपछि हत्या गरेको बताएका छन् । 

विनोदले प्रहरीसँगको बयानमा भनेका छन्, ‘निराको पसलमा म सामान किन्ने निहुँमा छिरेको थिएँ । त्यही बेला गलाको सिक्री तान्न खोज्दा प्रतिकार गरेपछि हत्या गरेको हुँ ।’ 

यद्यपि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीले विनोदको बयानबाट प्रहरी सन्तुष्ट नरहेको बताए । ती अधिकारीले भने, ‘अहिले झापाबाट आरोपीलाई हामी काठमाडौं ल्याउँदैछौँ । उनको प्रारम्भिक बयानबाट लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ । तर, हामी थप अनुसन्धानपछि मात्रै सबै कुरा भन्छौँ ।’ 

घटनास्थलको विश्लेषण गरेका एक प्रहरी अधिकारीका अनुसार निराको एक हातमा दाँतले टोकेको गहिरो घाउसमेत थियो । प्रहरी स्रोतका अनुसार निराले लगाएको सुनको सिक्री विनोदले बालाजुको एक सुन पसलमा बिक्री गरेको खुलेको छ । 

७ वैशाखमा कपनस्थित सरस्वतीनगरको व्यस्त सडकमै ‘निरु किचेन’ पसलभित्रै बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको चक्कु प्रहारबाट बीभत्स हत्या भएको थियो । आचार्यको हत्या रहस्यमय बन्दै गएपछि सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण वज्राचार्यको नेतृत्वमा समिति नै बनाएर अनुसन्धान अघि बढेको थियो ।

त्यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मी, उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठको नेतृत्वमा समेत छुट्टाछुट्टै अनुसन्धान समिति बनेका थिए । 

लामो समयसम्म हत्यारा पत्ता नलागेपछि निराका आफन्तले प्रहरीलाई दबाब सिर्जना गर्न घटनास्थलमा धर्नासमेत दिन थालेका थिए । शिलापत्र बाट साभार 

प्रतिक्रिया दिनुहोस्