देश विकासमा निजि क्षेत्रले जिम्मेवार भुमिका खेल्नुपर्छः कोइराला, उद्योगी व्यवसायीलाई राज्यले सहयोग गरेनः व्यवसायी

| २०८० बैशाख २२ गते १६: ५५ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
बैशाख–२२,अर्घाखाँची ।जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले देश विकासमा निजि क्षेत्रले जिम्मेवार भुमिका खेल्नुपर्ने बताउनुभएको छ । 

तिन खम्बे अर्थतन्त्रमा सबैको समन्वयबाट मात्रै आर्थिक समृद्धि सम्भव हुने भन्दै समन्वय प्रमुख कोइरालाले निजि क्षेत्रको सहयोग बिना विकास सम्भव नभएको बताउनुभएको हो । मुलुकले आर्थिक संकटको सामना गरिरहेको अवस्थामा सरकारले निजि क्षेत्र र निजि क्षेत्रले सरकारलाई सहयोग गर्नुको विकल्प नभएको उहाँको भनाई छ । 

उद्योग ब्यापार संघ अर्घाखाँचीले प्रकाशन गरेको २०८० को भित्तेपात्रो बिमोचन गर्दै समन्वय प्रमुख कोइरालाले यस्तो बताउनुभएको हो । यस्तै सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले व्यसायिक सफलताबिना आर्थिक समृद्धि सम्भव नहुने भन्दै यसको निम्ति व्यवसायिक एकता हुनुपर्ने बताउनुभएको छ । उद्योग व्यवसायीमा रहेका समस्या समाधान गर्न आफुले सहयोग गर्ने बचन दिंदै नगर प्रमुख श्रेष्ठले व्यवसायिक एकतामा जोड दिनुभएको छ । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै माओवादी केन्द्रका जिल्ला इन्चार्ज ठाकुर कुमार वि.क.किशोरले समाज परिवर्तन र देश विकासमा सबैपक्षले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ । 

संस्थाका अध्यक्ष तारा बहादुर सुनारको अध्यक्षता,वरिष्ठ उपाध्यक्ष रामहरी भुसालको स्वागत मन्तव्य र महासचिव रामु के.सी.को संचालनमा सम्पन्न कार्यक्रममा व्यवसायीहरुले चर्को ब्याज,लगानी,बजार,आयात र निर्यातमा भएका समस्याले व्यवसायी मारमा परेको गुनासो गरेका छन् । मुलुकको विकास र परिवर्तनमा अहम भुमिका निभाउने उद्योगी व्यवसायीलाई राज्यले सहयोग नगरेको भन्दै उनिहरुले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्