टोपबहादुर रायमाझीसहित ४ जना मुख्य योजनाकार रहेको प्रहरीको निष्कर्ष

| २०८० जेठ ७ गते ११: ३९ मा प्रकाशित

काठमाडौं । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा गरिएको ठगीमा चार जना मुख्य योजनाकार रहेको प्रहरीले अनुसन्धानबाट निष्कर्ष निकालेको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ४ जना मिलेर योजना बनाएको भेटिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।

टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री ‘बादल’का सल्लाहकार डा. इन्द्रजित राई, मोरङ घर भएका केशव दुलाल र ललितपुर घर भएका सानु भण्डारी मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

सानु भण्डारी नेपाल स्याटेलाइट कम्पनीमा काम गरिरहेका थिए । ललितपुर महानगरपालिका–२३ मा बस्छन् भण्डारी । पूर्व उपप्रधानमन्त्री रायमाझी पनि सानुको घर नजिकै बस्छन् । भण्डारीले रायमाझीलाई ‘मामा’ सम्बोधन गर्छन् । मोरङका केशव दुलालसँग चिनजान भएपछि आफूलाई ‘भुटानी शरणार्थी सम्बन्धी प्रोजेक्टमा लगानी गरौँ’ भनेर प्रस्ताव आएको भण्डारीले जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिएका छन् । भण्डारीले भनेका छन्,‘मसँग केही पैसा थियो, लगानी गरेर काम शुरु गरेका हौँ।’

टोपबहादुर रायमाझीले नै केशव दुलाल र सानु भण्डारीलाई डा. इन्द्रजित राईसँग चिनजान गराएर काम अघि बढाउन भनेको अनुसन्धानबाट थाहा भएको छ ।

सानु भण्डारीले अहिले अहिले ललितपुरको महालक्ष्मी नगरपालिका– ४ स्थित सीतापाखा हाइटमा घर बनाएका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार सानुले ठगेर आएको पैसाले घर बनाएका हुन् ।

रामबहादुर थापा गृह मन्त्रालयबाट बाहिरिएसँगै डा. इन्द्रजित पनि बाहिरिए । त्यसपछि आएका गृहमन्त्री बालकृष्ण खाणसँग गिरोहले पहुँच बनाएर कार्यदलको प्रतिवेदनमा अनुसूची थपाएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।

मोरङ घर भएका सागर राईमार्फत गिरोह बालकृष्ण खाण र तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसम्म पुगेको अनुसन्धानबाट खुलेको छ । ‘बालकृष्ण खाण सुरुदेखि नै यसबारे जानकार देखिन्छन्’ अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्,‘खाणले नै सचिव पाण्डेसँग यसबारे काम अघि बढाउनेबारे छलफल गरेको देखिन्छ ।’

सो प्रकरणमा संलग्न आरोपमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनारायण पाण्डे र डा. इन्द्रजित राईसहित १६ जना प्रहरीको हिरासतमा छन् ।स्रोत -रातोपाटी

प्रतिक्रिया दिनुहोस्