एमाले सांसद शाहीले कांग्रेस महामन्त्रीहरुको नामै तोकेर प्रचण्डको ‘पुच्छर’ भनेपछि...

| २०८० जेठ ७ गते १८: ११ मा प्रकाशित

काठमाडौं।सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा सहभागी एमाले सांसद दयालबहादुर शाहीले कांग्रेस महामन्त्रीहरु र सहमहामन्त्री बद्रि पाण्डेको नाम तोकेरै सत्ताको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुच्छर बनेको आरोप लगाएका छन्। 

आइतबारको प्रतिनिधि सभामा बोल्दै सांसद शाहीले सत्ताधारी दलहरु माथी ‘असंसदीय’ भाषाहरु प्रयोग गरेका छन्। 

सांसद शाहीको उक्त अभिव्यक्तिप्रति कांग्रेस सांसद ईश्वरी न्यौपानले सभामुखको ध्यानाकर्षण गराइन्। र साथै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन पनि माग गरिन्। 

के भयो त संसद्‌मा?

सांसद शाहीलाई सभामुखको भूमिकामा रहेकी उपसभामुख इन्दिरा रानाले नीति तथा कार्यक्रमको विषयमा छलफलमा सहभागी हुन समय दिइन्। जब शाही पोडियममा पुगे उनी सुरुबाटै विषयमाभन्दा व्यक्तिगत टिप्पणीमा उत्रिए।

उनले कांग्रेस पदाधिकारीहरुलाई सिद्धान्त छोडेको भन्दै सत्ताका लागि प्रचण्डको पछि लागिको आरोप लगाए। प्रचण्डलाई अवसर छोप्ने नेता रहेको टिप्पणी गरे।

‘महामन्त्रीहरु गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्रि पाण्डेहरुलाई अलिकति पनि संकोच लागेन? सत्ता स्वार्थका लागी बीपीको सिद्धान्त छोड्ने? कांग्रेसका द्धिगज नेताहरु प्रचण्डको पुच्छर हुनु भएकोमा चिन्ता लागेको छ,’ शाही यतिमै रोकिएनन्,‘सत्ताका लागि कांग्रेस यदि तल गिर्‍यो। कृष्णप्रसादले विवाह गर्नु भएन। अर्काकी छोरी ल्याएर दुख पाउँछन् भन्नु भयो। बीपीको जिवन जेलमै गयो। तर तपाईंले सातवटा मन्त्रीको लागि गहतको झोलमा जात फाल्नु भएको छ।’

सांसद शाहीको उक्त अभिव्यक्तिपछि कांग्रेस सांसद इश्वरी न्यौपानेले नियमाआपत्ति गर्दै सभामुखसँग समय मागिन्। उनले सांसद शाहीले विषयान्तर गरेर बोलेको भन्दै उक्त अभिव्यक्तिलाई रेकर्डबाट हटाउन माग गरिन्।

‘हामी संसद्‌मा छौं। संसद्‌मा बोल्दै गर्दा हामीले सम्पूर्ण पार्टी बसेर नियमावली पनि बनाएका छौं। मर्यादित भाषामा संसद्‌मा बोल्नुपर्छ। माननीयज्यूले हाम्रो दर्शन र विचारलाई अगाडि राख्दै प्रत्येक माननीयज्यूको नाम टिप्दै दर्शन पढाइरहनु भएको छ। हामीले संशोधनमा बोलिरहेका छौं की? व्यक्ति–व्यक्ति, पार्टी–पार्टीको विषयमा बोली रहेका छौं,’ सांसद न्यौपानेले भनिन्,‘उहाँले बोल्नु भएको कुरा रेकर्डबाट हटाइयोस्।’ 

न्यौपानेको कुरालाई उपसभामुखले ध्यानाअकर्षण भएको भन्दै सांसद शाहीलाई बोल्न संकेत गरिन्। तर फ्लोरबाट सत्ता पक्षीय सांसदले रेकर्डबाट हटाउनैपर्ने भन्दै निरन्तर हल्ला गरेपछि उपसभामुखले रेकर्डबाट हटाउन निर्देशन दिइन्।

‘यस विषयमा ध्यानाकर्षण भएको छ। बोल्नु भएको शब्द सुनी सचिवालयलाई हटाउन निर्देशन दिन्छु,’ उपसभामुख रानाले भनिन्।

यो बीचमा एमाले सचेतक महेश बर्तौला पनि उभिएका थिए। उनले के भने भन्ने कुरा त सुनिएन तर पोडियममै रहेका सांसद शाहीले भने अरु सांसदहरुले पनि नामै किटेर बोलेकोले आफूले पनि बोलेका बताएका थिए। कांग्रेस सांसदहरुले उठेरै विरोध गरे। सत्तापक्ष सांसदहरुले पनि उठेर टेबल ठटाए।source- nepallive.com

प्रतिक्रिया दिनुहोस्